नाडा अटो शोमा गाडी मात्र होइन, गाडी किनेपछिका सबै सेवाको पनि एकैथलो प्रदर्शनी
Friday Aug 21, 2026
वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:५४
काठमाडौं, भदौ ५ । यो महिना नेपाली अटो बजारमा नयाँ गाडीको चर्चा केन्द्रमा रह्यो। अब भने गाडी खरिद गरेपछि आवश्यक पर्ने टायरदेखि बीमा, बैंकिङ सेवा, ग्यारेज उपकरणदेखि ईभी चार्जिङसम्मका सम्पूर्ण समाधान एउटै स्थानमा हेर्न पाइने भएको छ।
भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टलसहित सञ्चालन हुँदैछ।
प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी कुल ५३ सवारी ब्रान्ड सहभागी हुनेछन्। तर, यसपटकको अटो शोको विशेषता केवल नयाँ गाडीको प्रदर्शनमा सीमित छैन।
प्रदर्शनीमा सहभागी करिब ७० कम्पनीले गाडीका लागि आवश्यक पर्ने टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, विभिन्न एसेसरिज र ईभी चार्जिङ उपकरण प्रदर्शनी तथा बिक्रीका लागि राख्नेछन्।
त्यस्तै, करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीसाधनका लागि विशेष वित्तीय योजनासहित सहभागिता जनाउनेछन्।
गाडी छान्नेभन्दा गाडी चलाउने यात्रा लामो
अटोमोबाइल उपभोक्ताको वास्तविक यात्रा गाडी खरिदसँगै सुरु हुने भएकाले यसपटक नाडा अटो शोले गाडीपछिको सम्पूर्ण इकोसिस्टमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
गाडी छान्न केही दिन वा हप्ता लागे पनि खरिद गरेको सवारीसाधनसँग उपभोक्ताको सम्बन्ध भने वर्षौंसम्म रहने गर्दछ। सवारीको नियमित मर्मत, बैंकको ऋण, बीमा नवीकरण, टायर तथा ब्याट्री परिवर्तन र अन्य प्राविधिक सेवासँग उपभोक्ता लामो समयसम्म जोडिनुपर्ने हुन्छ।
यही आवश्यकतालाई ध्यानमा राख्दै प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण गरी छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसबाट नयाँ गाडीबारे जानकारी लिनेदेखि त्यसको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा उत्पादनबारे एउटै भ्रमणमा जानकारी लिन सकिने आयोजकको विश्वास छ।
विभिन्न देशका ब्रान्ड एउटै छानामुनि
नाडा अटो शोमा सहभागी सवारी ब्रान्डको भौगोलिक विविधता पनि आकर्षणको केन्द्र बन्नेछ। युरोपेली इन्जिनियरिङका लागि परिचित स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन, चिनियाँ निर्माता चेरीअन्तर्गत ओमोडा र जेकु, तथा जीडब्ल्यूएम लगायतका ब्रान्ड सहभागी हुनेछन्।
जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली तथा चिनियाँ मूलका सवारीसाधन एउटै प्रदर्शनीस्थलमा अवलोकन गर्न सकिनेछ।
विदेशी कम्पनी तथा सहभागीका लागि छुट्टै इन्टरनेसनल बिजनेस प्याभिलियन व्यवस्था गरिएको छ। त्यस्तै, नेपालमै उत्पादन तथा एसेम्बली हुँदै आएका सवारीसाधन र उत्पादनलाई प्रवर्द्धन गर्न ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन पनि सञ्चालन हुनेछ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोको ठूलो हिस्सा गाडी वर्षौंसम्म सञ्चालनमा राख्न सहयोग गर्ने उद्योगले ओगटेको उल्लेख गर्दै त्यसलाई पनि समान रूपमा प्रदर्शनीमा देखाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले अटोमोबाइल उद्योगको विस्तारसँगै यसको प्रदर्शनीको स्वरूप पनि व्यापक बन्दै गएको बताए। करिब पाँच दशकअघि एउटा कोठामै अट्ने नेपालको अटोमोबाइल उद्योगसम्बन्धी प्रदर्शनी आज करिब तीन लाख वर्गफिट क्षेत्रमा विस्तार हुनु गाडीको संख्या बढ्नु मात्र नभई समग्र अटोमोबाइल उद्योगको विस्तारको संकेत भएको उनको भनाइ छ।
























