निषेधाज्ञामा मात्र बैंकले जम्मा गरे १ खर्ब २३ अर्ब,कर्जा चाँही ह्वात्तै घट्यो
Wednesday Jul 07, 2021
वि.सं.२०७८ असार २३ बुधवार १९:०८

काठमाडौं । निषेध आदेशको अवधिमा निक्षेप १ खर्ब २३ अर्ब रुपैयाँले बढ्दा ७४ अर्ब रुपैयाँले मात्र कर्जा प्रवाह भएको छ। यो अवधिमा कर्जाको तुलनामा निक्षेप ५२.२ प्रतिशतले बढेको नेपाल बैंकर्स संघले जनाएको छ।
वैशाख १६ गतेदेखि उपत्यकामा निषेध आदेश सुरु भएको थियो। वैशाख १७ गते वाणिज्य बैंकहरुसँग ३९ खर्ब २३ अर्ब रुपैयाँ संकलन भएको थियो भने सो रकम गत असार १८ गतेसम्ममा बढेर ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ।
त्यस्तै कर्जातर्फ वैशाख १७ गते ३५ खर्ब ९४ अर्ब रुपैयाँ प्रवाह भएकोमा असार १८ गतेसम्ममा वाणिज्य बैंकहरुको ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको संघले जारी गरेको तथ्यांकमा छ।
बैंकर्स संघका अनुसार लकडाउन अवधिमा १५ अर्ब रुपैयाँले विदेशी मुद्राको निक्षेप बढेको छ भने १७ अर्ब रुपैयाँको वैदेशिक मुद्रा कर्जा विस्तार भएको छ। असारयता भने निक्षेप ५५ अर्ब र कर्जा प्रवाह २१ अर्ब रुपैयाँले बढेको बैकर्स संघले जनाएको छ।
बैंकर्स संघका अनुसार असार पहिलो हप्ता वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ पनि पुगेको थिएन। तर कर्जा भने तीन अर्ब रुपैयाँ भएको थियो। तर दोस्रो हप्तादेखि भने निक्षेप विस्तारै उकालो लागेको छ।
असार दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब र तेस्रो साता ४८ अर्ब रुपैयाँ संकलन भएको छ। कर्जामा भने निक्षेपअनुसारको प्रगति हुन सकेको छैन। असार दोस्रो साता कर्जा विस्तार ४ अर्ब रुपैयाँ र तेस्रो साता १४ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको कर्जाको विस्तार भएको छ।
पछिल्लो समयमा सरकारको दैनिक खर्च ११ अर्ब रुपैयाँको हाराहारीमा हुन थालेपछि बैंकहरुको निक्षेपमा वृद्धि भएको हो।

























