विरासत आफ्नो पोल्टामा पार्न एक हुँदै कोइराला परिवार, देउवालाई भयो यस्तो तनाव
Tuesday Nov 20, 2018
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०३:४३

काठमाडौ । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४ औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् ।
हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ।
उनीहरू तीनै जना १३औं महाधिवेशनबाट ब्याक भएको आफ्नो परिवारको राजनीतिक यात्रालाई एक भएर थाम्नेगरी अघि बढेका हुन् । यसको संकेत उनीहरूले आइतबार मोरङमा भएको एक कार्यक्रममा एउटै मालामा बाँधिएर गरेका छन् ।
तीनै नेताले कोइराला परिवारको कर्मथलो कोइराला निवासलाई साक्षी राखेर आइतबार ऐतिहासिक घोषणासमेत गरेका छन् ।
आगामी महाधिवेशनमा पार्टी सभापति ताकिरहेका शशांक र शेखर कोइराला अहिले सुजातासमेतलाई साथमा लिएर छलफल र भेटवार्तालाई बाक्लो बनाइरहेका सन्दर्भमा उनीहरुको यो घोषणाले कोईराला परिवार फेरी नेतृत्व हत्याउन लागिपरेका प्रष्टै देखिन्छ ।
रामचन्द्र पौडेललाई पन्छाएर बिपी कोइरालाको ‘लिगेसी’सहित सभापतिको उम्मेवारी दिने दाउमा शशांक रहेका छन् । तर, उनलाई उनकै परिवारभित्रका शेखरको कडा चुनौति भने यथावत नै छ । तै पनि पछिल्ला दिनमा बाक्लै भेटघाट गरेर शशांकले शेखर र सुजातालाई थामथुम पार्ने तथा आफूलाई समर्थन गरी बलियो क्याम्प निर्माण गराउन कसरत गरिरहेका छन् ।
शारीरिक अस्वस्थताका कारण सुजाता पछिल्लो समय राजनीतिमा खासै सक्रिय छैनन् । त्यसैले यसपटक उनले सहजै शशांकलाई ग्रिन सिग्नल भने दिएकी छिन् । शेखर भने बाध्यताको शिकार बन्ने खतरामा छन् ।
कोइराला परिवारको यो तयारीपछि कुम्भकर्ण झैँ सधैँ निदाउन रमाउने देउवामा अनौठो जोश देखिएको छ । उनी पनि सबै शक्ति खर्चेर आफ्नो गुट पुनर्ताजगी गर्न दौडिएका छन् ।






















