महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
Saturday Jul 11, 2026
वि.सं.२०८३ असार २७ शनिवार १७:२६
काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ।
बैंकले सार्वजनिक गरेको योजना अनुसार महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमका महिला उद्यमीहरूले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
बैंकका अनुसार यस योजनाका लागि इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्याङ्कन प्रणाली विकास गरिएको छ। उक्त प्रणालीले परम्परागत बैंकिङ अभ्यासमा जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र विश्लेषणका आधारमा कर्जा मूल्याङ्कन गर्नेछ।
यस व्यवस्थाले धितो अभावका कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राखी महिला उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले यस कर्जासम्बन्धी थप जानकारीका लागि २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।























