सरकारी नीतिले हावा खायो, व्यापार घाटा घटाउन गाडी आयात बन्द गर्दा पनि भयो उही ताल
Sunday Oct 30, 2022
वि.सं.२०७९ कात्तिक १३ आइतवार १९:२२
गत वैशाख ११ गतेदेखि गाडी, मदिरा लगायतका वस्तुको आयतमा प्रतिबन्ध लगाएर सरकारले व्यापार घाटाको आंकडालाई खुम्च्याउन खोजेपनि त्यसले पार नलागेको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। साउन, भदौ र असोज महिनामा वस्तु आयात ४ खर्ब रुपैयाँ बराबरको भएको छ भने वस्तु निर्यात ४१ अर्ब रुपैयाँ बराबरको भएको छ।
गत आर्थिक वर्षको ३ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने नेपालको कूल वैदेशिक व्यापार नै घटेको छ। वस्तु आयात १६ दशमलव २० प्रतिशतले घटेको छ। यस्तै, वस्तु निर्यात ३५ दशमलव ७१ प्रतिशतले घटेको छ। कूल वैदेशिक व्यापार गत आर्थिक वर्षको तीन महिनामा ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको रहेको थियो भने अहिले ४ खर्ब ४२ अर्ब रुपैयाँमा झरेको तथ्यांकले देखाएको छ।




























