काठमाडौंमा उम्मेदवारका एजेण्डा सहितको अन्तक्र्रिया कार्यक्रम सम्पन्न
Sunday Nov 06, 2022
वि.सं.२०७९ कात्तिक २० आइतवार ०८:०९
काठमाडौं । विश्व हिन्दु युवा संघको आयोजनामा काठमाडौमा, समसामयिक बिषयमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुको चुनावी एजेण्डाका बिषयमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम धुम्बाराहीमा सम्पन्न गरेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरु सहितको सहभागितामा भएको कार्यक्रममा सहभागिहरुले ‘देशको युवा जनशक्तिलाई स्वदेश मै रोजगार सिर्जना गरी देश विकासको आधार निर्माण गर्नु पर्ने कुरामा जोड दिएका छन् ।’ ‘युवा जनशक्तिलाई औद्योगिक क्षेत्रको विकासमा सहभागिता गराउने तथा उद्योगधन्धा र कलकारखानाको विस्तार गर्दै लाखौं युवालाई विदेशिनबाट रोक्नु पर्दछ । जसका कारण देशको समृद्धि र विकासमा योगदान पुग्नेछ ।’ उनीहरुले सामुहिक धारणा राखेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं ५ का उम्मेद्वार प्रदिप पौडेलले युवालाई स्वदेशमा नै दक्ष बनाई सिपमुलक क्षेत्रमा ब्यवस्थापन गनु पर्ने बताए । दैनिक हजारौको संख्यामा युवा जनशक्तिहरु विदेशीने क्रमलाई रोक्नको लागि युवालाई स्वदेशमा नै सिपमुलक र ब्यवसायिक क्षेत्रमा स्थापीत गराउने एजेण्डा रहेको बताए । उनले ‘आगामी निर्वाचनमा युवाको भूमिका महत्वपूर्ण भएको हुँदा देशको समृद्धिका लागि युवाको नेतृत्व आवश्यक भएको विचार ब्यक्त गरे ।’ नेता पौडेलले आफ्नो धारणा स्पष्ट पार्दै ‘युवा जनशक्तिलाई सहिकिसिमले परिचालन गर्नु र समृद्धिको आधार निर्माण गर्नु आजको आवश्यकता भएको कुरामा जोडदिए ।’
कांग्रेसकै प्रदेश उम्मेदवार भैरब सापकोटाले ‘सक्षम र दक्ष युवाको योग्यता र क्षमतालाई सहि मार्गमा उपयोग गर्न सकेमा देशको मुहार चाँडै फेरिने कुरामा जोड दिए ।’ यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश उम्मेदवार राजेन्द्र प्रजापतिले ‘काठमाडौं जस्तो साँस्कृतिक सहरको सुन्दरतालाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका साथ विकास गर्नु पर्नेमा आफुले जोड दिने प्रतिवद्धता ब्यक्त गरे ।’
विश्व हिन्दु युवा संघ काठमाडौंको आयोजना तथा समन्वयमा आयोजित कार्यक्रममा विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले ‘युवा जनशक्तिलाई सनातन संस्कारयुक्त शिक्षा प्रदान गरी देश विकासको मुल गतिविधिमा सहभागि गराउँदै राष्ट्रिय समृद्धिको आधार निर्माण गर्नु पर्नेमा जोड दिए ।’ उनले नेपालको धार्मिक सहिष्णुतामा दलहरुले हेलचेक्रयाइ गरेको र हिन्दु धर्मलाई हरेक क्षेत्रबाट प्रहार भईरहेको समेत उल्लेख गरे ।

कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले नेपालको मौलिकता बचाउन विभिन्न दलका नेतालाई आग्रह गरे । उनले ‘महायोगी गुरु गोरक्षनाथको भूमि तथा वाग्देवतावतार योगी नरहरिनाथको भूमिमा गौ रक्षाको अभियान सञ्चालन गर्नु पर्ने कुरामा जोड दिएका छन् ।’ शाहले नेपालको मौलिकतालाई लत्याएर विदेशी मौलिकता ल्याउन खोजेको भन्दै स्वदेशमा नै भएका श्रोत र साधनको सदुपयोग गर्न आग्रह गरे ।
काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा विभिन्न राजनैतिक दलबाट १५ उम्मेदवारहरु र स्वतन्त्र १४ गरी जम्मा २९ प्रतिश्पर्धिहरुले आगामी प्रतिनिधिसभा सदस्य पदको निर्बाचनमा भाग लिएका छन् । जसमध्ये ४० बर्षभन्दा कम उमेरका युवाहरुको संख्या १२ रहेको छ भने ६० बर्ष भन्दा माथिका उम्मेदवारहरुको संख्या ४ जना रहेका छन् ।
कार्यक्रम विश्व हिन्दु युवा संघ काठमाडौंका अध्यक्ष प्रनिश जंग शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।



























