नेपाली राष्ट्रिय फुटबल टिमले एसियन कप २०१९ छनोटको तयारीमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने
Thursday May 18, 2017
वि.सं.२०७४ जेठ ४ बिहीवार ०७:५५
४ जेठ, काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले एसियन कप २०१९ छनोटको तयारीमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यी दुई छिमेकी टिम जेठ २३ मा मुम्बईमा भिड्दै छन् ।
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को प्रस्तावअनुसार चिरपरिचित प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दुवै टिम एसियन कप छनोटको दोस्रो खेलको तयारीमा छन् । त्यसका निम्ति मुम्बईको प्रतिस्पर्धाले दुवैलाई फाइदा हुने अपेक्षा गरिएको छ ।
नेपालले एसियन कप छनोटको दोस्रो खेल ३० जेठमा यमनसँग हल्चोकमा खेल्नेछ । त्यही दिन भारतले बेङलोरमा किर्गिस्तानको सामना गर्नेछ । महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिता छनोटको पहिलो खेलमा नेपाल मनिलामा फिलिपिन्ससँग ४–१ ले हारेको थियो भने भारतले म्यानमारमाथि १–० को ‘अवे’ जित हात पारेको थियो ।
सोलिडारिटी कप च्याम्पियन नेपाल र साफको सर्वाधिक सफल टिम भारत करिब दुई वर्षपछि भिड्न लागेका हुन् । यी दुई पछिल्लोपल्ट साफ च्याम्पियनसिपमा खेलेका थिए । २७ डिसेम्बर, २०१५ मा त्रिवेन्द्रममा भएको खेलमा भारतले नेपाललाई ४–१ ले हराएको थियो । त्यसयता नेपालको राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र सोलिडारिटी कपको उपाधि जित्यो । राष्ट्रिय टिमका खेलाडीको वर्चस्व रहेको यू–२३ ले फाइनलमा भारतलाई हराएर गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक पनि हात पारेको थियो ।
जापानी प्रशिक्षक ग्योतोकु कोजीले सम्हालेको नेपाली टिमले यमनसँगको खेलको तयारी दुई साताअघि नै सुरु गरिसकेको छ । उनले प्रारम्भिक चरणमा ३२ खेलाडी बोलाएका छन् । घुँडाको शल्यक्रिया गरिएका डिफेन्डर रविन श्रेष्ठले खेल गुमाउने बताइएको छ । विदेशमा लिग खेलिरहेका गोलकिपर किरण चेम्जोङ (टीसी स्पोर्ट्स/माल्दिभ्स) र मिडफिल्डर रोहित चन्द (पर्सिजा जाकार्ता/इन्डोनेसिया) बाहेक सबै खेलाडी प्रशिक्षणमा सहभागी भइरहेको एन्फाले जनाएको छ ।
‘प्रतियोगिताअघि मैत्रीपूर्ण खेल राम्रो हो,’ राष्ट्रिय टिमका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘भारतसँगको खेलले हाम्रो टिमको कमजोरी र बलियो पक्ष के भन्ने छुटयाउन सजिलो पार्नेछ । कमजोरीलाई यमनसँगको खेलमा सुधार गर्न सहयोग पुग्नेछ ।’ नेपालका पूर्व प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले सम्हालेको भारत फिफा वरीयतामा १ सयौं स्थानमा छ, जुन उसको अहिलेसम्मकै उच्च वरीयता हो । पछिल्लो महिना तीन स्थान गुमाएको नेपाल १ सय ७३ औं स्थानमा छ । कान्तिपुर दैनिकमा खबर छ ।