API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

नेकपाको आन्तरिक मामला ट्विटरमा किन भयो छताछुल्ल, रिमाल र भट्टराईबीच यस्तो दोहोरी

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता विष्णु रिमाल र योगेश भट्टराईबीच सामाजिक सञ्जालमा पुनः घोचपेच सुरु भएको छ। यी दुईबीच अहिले मात्र नभएर पहिला पनि एक पटक वाकयुद्ध भएको थियो । त्यसबेलादेखि उनीहरुले एकले अर्कोलाई विपरित ध्रुवको रुपमा हेर्ने गरेका छन् ।

सरकार सञ्चालनको शैलीमा पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला दुई नेताले भने सामाजिक सञ्जालमै एकअर्काप्रति लक्षित ट्विट लेखेका छन्। उनीहरु दुई बीचको यो घोचपेच दोस्रोपटक हो।

 

 

दोस्रो घोचपेचको सन्दर्भ केलाउनुअघि पछिल्लो समय विकसित घटनाक्रमलाई छोटोमा पुनःस्मरण गरौं।

 

सरकारले सोचजस्तो काम गर्न नसकेको, भाषणमात्रै गरेको, मंहगी बढेको, कामभन्दा बढी हल्ला गरेको, काम गर्न नसकेपछि कार्यकर्तालाई अरिंगाल र मौरी बनेर विपक्षीमाथि खनिन उक्साएको भनेर प्रधानमन्त्री केपी ओलीमाथि आरोप लागिरहेको छ।

 

यसैबीचमा, पार्टीको एकता प्रक्रियामा पनि विवाद बढ्दै गएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूहरुलाई दबाएर अघि बढ्न खोजेको आरोप लगाइरहेको छ।

 

 

गत बिहीबार चालू अधिवेशन अन्त्य हुनुअघि संसदमा बोल्दै पूर्व प्रधानमन्त्री तथा एमाले सचिवालय सदस्य माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका थिए।

 

उनले देश डुब्नै लागेको भन्दै ‘माझी’ खोजेका थिए। साथै, शुक्रबार पार्टीको स्थायी समिति बैठक डाकी सरकारकै आलोचना गरेका थिए।

 

पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सिंगापुरमा छन्। सरकारको समीक्षा हुनुपर्ने बताउँदै आएका उनी यसअघि भारत र चीन भ्रमणमा गएका थिए।

सरकारको कामकारबाही मात्रै होइन, कार्यशैलीप्रति असन्तुष्ट प्रचण्डले पनि बेलाबेलामा आफू निकट नेता र पत्रकारहरु डाकी सरकारको आलोचना गर्दै आएका छन्। छिमेकी देशहरुको भ्रमणलाई फेरि प्रधानमन्त्री बन्ने उनको चाहनाको दौडथुपको रुपमा पनि अर्थ्याउने गरिन्छ।

 

ओली पछिका दुई नेताहरुको पछिल्ला अभिव्यक्ति र सक्रियतालाई प्रधानमन्त्री ओलीले रुचाउने कुरै छैन।

 

त्यसैले हुनसक्छ उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले अमेरिकाबाटै सांकेतिक प्रतिवाद गरे। आफ्नो फोटोसमेत राखेर रिमालले लेखेका छन्, ‘मानिसको पतन त्यस समयमा सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ।’

 

 

रिमालको ट्विटमा कसैलाई प्रत्यक्ष ‘मेन्सन’ गरिएको छैन। कुनै सन्दर्भ पनि खुलाइएको छैन। तर, पछिल्लो समय उनले सांकेतिक ट्विटमा अभ्यास गरिरहेकाले उनको तीर माधव नेपाल वा प्रचण्डतिरै सोझिएको बुझ्न कठिन छैन।

 

केही समयअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएर गोविन्द केसीको पक्षमा भाषण गर्दा रिमालले लेखेका थिए, ‘सर्पलाई दुध ख्वाउनु, आफैंलाई डसाउनु भन्नेले ठीकै भने।’

 

यो ट्विटमा पनि कुनै नाम थिएन, सन्दर्भ खुलाइएको थिएन, ‘मेन्सन’ पनि गरिएको थिएन। तर, धेरैले कार्कीप्रति लक्षित ट्विटकै रुपमा बुझेका थिए। त्यस्तै, शुक्रबार रातिको पतन सुरु हुने ट्विट पनि नेता नेपाल वा प्रचण्डको गतिविधिप्रति लक्षित हुनसक्ने अनुमान गर्न सकिन्छ।

 

रिमालको ट्विटलाई एमाले नेता योगेश भट्टराईले रुचाएनन्। उनले ट्विटरबाटै प्रतिवाद गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोसी चस्मा।’

 

 

भट्टराईको ट्विटमा पनि कुनै नाम र सन्दर्भ छैन। कसैलाई ‘मेन्सन’ पनि गरिएको छैन। तर, केही कारणले त्यो ट्विट रिमालप्रति नै लक्षित हो भन्ने बुझ्न सकिन्छ। पहिलो कारण–‘पतन’ शब्द। दोस्रो, सत्ता र शक्तिको चुचुरो।

 

अहिले प्रधानमन्त्रीको पहुँचमा पुग्नको लागि रिमाल फलामे ढोका हुन्। उनीबाट पार नभई प्रधानमन्त्रीको दर्शन सम्भव नभएको आरोप पार्टीका नेताहरुले लगाइरहेका हुन्छन्। कतिले त उनी ओलीपछिका दोस्रो शक्तिशाली व्यक्ति भएको पनि आरोप लगाउँछन्। यति कुरा भट्टराईले थाहा नपाउने कुरै छैन। त्यसैले पनि सत्ता र शक्तिको चुचुरो लेखेका हुनसक्छन् नेपाल लाईभले जनाएको छ ।

 

भट्टराई नेपाल पक्षधर नेता हुन्। गत महाधिवेशनमा उनी नेपाल पक्षबाटै चुनाव लडेका थिए। र, सचिवमा विजयीसमेत भएका थिए।

दुई नेताको दोहोरीमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मुछिन आइपुगेका छन्। शनिबार राति भट्टराईले ट्विट लेखेको केही क्षणपछि नै श्रेष्ठले लेखेका छन्, ‘वर्तमान सरकारप्रतिको आलोचना÷टिप्पणी सरकारलाई थप प्रभावकारी एवम् सफल बनाउने उद्देश्यले हुनुपर्छ। यतिबेला यो सरकारको विकल्पको सोच देश, जनता, पार्टी र आन्दोलनको पक्षमा हुँदैन। अहिले त्यस्तो कल्पना गर्नु पनि गलत हुन्छ। कसैले त्यस्तो सोचेका छन् जस्तो पनि लाग्दैन।’

 

 

सरकारको कमजोर प्रदर्शनसँगै नेकपाभित्र असन्तुष्टि पनि बढ्दै गएको छ। नेताहरुको सार्वजनिक घोचपेच त असन्तुष्टि चियाउने छिद्र मात्रै हुन्। त्यसका दायरा र असर भने बाँकी दिनहरुमा देख्दै जान सकिन्छ।

 

यो पछिल्लो विवाद मात्रै हो। ट्विटरमै यसअघि पनि रिमाल र भट्टराईबीच दोहोरी चलेको थियो।

 

के भएको थियो त्यतिबेला ?

 

गत पुषमा तत्कालीन नेकपा (एमाले)ले जीतको खुसीयाली मनाइरहेको थियो। मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा अपेक्षाकृत नतिजा पाएका कारण ओली सरकारको नेतृत्व गर्न हतारिएका थिए।

 

तर, पुष १६ मा राजधानीमै एमाले सञ्चार इलाका कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा तत्कालीन एमाले सचिव भट्टराईले भनिदिए, ‘एकता भएकै दिन ओली र प्रचण्डजीले सक्रिय राजनीतिबाट बिदा लिए हुन्छ। त्यसो भएमा उहाँहरु विश्वमा नेल्सन मन्डेलाजस्तै सम्माननीय हुनुहुनेछ।’

भट्टराईले एमालेका अन्य शीर्ष नेतालाई पनि बिदा लिएर युवा नेतालाई पालो दिन आग्रह गरेका थिए।

 

भट्टराईले कार्यक्रममा बोलेनन् मात्रै, सामाजिक सञ्जाल, ट्विटरबाट त्यससम्बन्धमा आएका समाचारहरु समेत सेयर गरेका थिए। ओली कतिबेला प्रधानमन्त्री बन्लान् भनेर प्रतिक्षा गरिरहेको एमालेको ओली गुटले भट्टराईको आग्रहलाई सहज रुपमा लिएनन्।

 

भट्टराईप्रति सबैभन्दा कठोर देखिए रिमाल। उनले ट्विटरमा लेखे, ‘उबेला ओलाङचुङगोलादेखि जोगबुढासम्म तिनै बुढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीहरुमा थिएन। अहिले यसो सुन्छु र दंग पर्छु, तिनै ओलीको ‘बक–अप’बाट ट्रफी पाउने साथीहरुको ‘माकाफुँइ’ले के विधि सगरमाथा चढेको हो?’

 

रिमालले ‘माकाफुँइ’ शब्दै प्रयोग गरेर ट्विट गरेपछि विषय झनै छरपष्ट भएको थियो। पार्टीका नेताहरु मात्रै होइन, सामान्य ट्विटर प्रयोगकर्ताहरु पनि बहसमा तानिए।

 

ओली निकट र शक्तिशाली रिमालसँगै विवाद बढ्नु आगामी सत्तायात्रालाई सुखद संकेत नहुने बुझेरै हुनुपर्छ, भट्टराई आक्रामक भएनन्। बरु नरम देखिए। उनले रिमाललाई मेन्सन गरेरै लेखे, ‘करिब ३५ वर्ष भयो विष्णु रिमालसँग चिनजान र संगत भएको, उहाँ एक सालीन र मिलनसार लाग्छ मलाई। तर मेरा बारेमा उहाँले प्रयोग गरेका शब्द र टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाह्रो भयो। उहाँले मप्रति जती नकारात्मक टिप्पणी गरेपनि मेरो उहाँप्रति सधैं सद्भाव रहिरहने छ।’

 

यो विवाद उनीहरुबाट अन्त्य भए पनि अन्य नेता तथा कार्यकर्ता र ट्विटर प्रयोगकर्ताले जारी राखे। बहसमा माधव नेपाल समूह र केपी ओली समूह स्पष्ट रुपमै दुई कित्तामा बाँडिए।

 

विद्यार्थी राजनीतिबाट आएकी रामकुमारी झाँक्रीले लेखिन्, ‘अलि बोल्ड भएर सोच्ने हो भने योगेश कामरेडको कुरामा रोइकराई गर्नुपर्ने केही छैन। तिमी कस्तो कृतिमानी बन्छौं त्यो तिम्रो कुरा, बस मलाई यस्तो लाग्छ भन्नै नहुने पनि होइन नी।’

 

 

अन्ततः ओलीले सरकारको नेतृत्व गरे। तर पटक–पटकको सरकार विस्तारमा पनि भट्टराई परेनन्। उनी मन्त्री बन्ने बलियो सम्भावना किन पनि थियो भने चुनाव प्रचारको क्रममा भट्टराईको क्षेत्रमै पुगेर ओलीले भाषण गरेका थिए, ‘जिताएर पठाउनुस्, मन्त्रीको विल्ला भिराएर पठाउँछु।’

 

कात्तिक १९ गतेको चुनावी सभामा ओलीले भट्टराईको निकै प्रशंसासमेत गरेका थिए। भनेका थिए, ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेज तर्रार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्ललेजुङको जनताले विश्वास गरेको युवा मस्तिष्क र युवा काँधले, युवा हातहरुले ताप्लेजुङ बनाउँदैन होला? तपाईंहरु ढुक्क हुनुस्, माथि म छु, यहाँ योगेश छ। ढुक्क हुनुहोस्।’

 

तर, ढुक्क हुने अवस्था देखिएन। भट्टराई मन्त्री बनाइएनन्। अन्य कारण जेसुकै भए पनि भट्टराईको त्यही ‘मन्डेला बन्नुस्’ भन्ने अभिव्यक्ति र रिमालसँगको विवाद नै उनी मन्त्री बन्न नसक्नुका मुख्य कारण भएको अनुमानहरु गरिए।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...