मुलुकमा अहिले राष्ट्रवाद र सैन्यवाद संयुक्त रुपमा अघि बढेकोले हिंसात्मक घटना हुनु स्वभाविक : ठाकुर
Friday Nov 16, 2018
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०५:२०

निरंजन साह, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुन बताएको छ ।
तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।
महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले मुलुकमा अहिले राष्ट्रवाद र सैन्यवाद संयुक्त रुपमा अघि बढेकोले हिंसात्मक घटना हुनु स्वभाविक र निश्चित भएको प्रस्ट पारे ।
ठाकुरले भने ‘नेपाल सार्वभौमिकता र स्वतन्त्र मुलुक भएपनि जनता स्वतन्त्र नभएको र एक भाषाको माध्यमबाट औपनिवेशिकता लादिएको मुलुक हो । त्यसैले हिंसा हुनु स्वभाविक हो ।’
ठाकुरले राष्ट्र मजबुत हुनका लागि सीमा सुरक्षा पहिलो प्राथमिकताको मुद्दा हुनुपर्नेमा जोड दिए छन । उनले सीमा सुरक्षानै नभएको अवस्थामा जतिबेला पनि सत्ता बदलिन सक्ने अध्यक्ष ठाकुरले बताए ।
अध्यक्ष ठाकुरले भने , ‘यो अवस्थामा कुनै पनि समय सत्ता परिवर्तन हुनसक्छ ।’ ठाकुरले मधेसी जनताले स्वतन्त्रताको आभास नपाउने र जनचेतनाको अभाव मधेश रहिरहेमा कहिल्यै पनि देशलाई साथ दिन नसक्ने बताए ।
अध्यक्ष ठाकुरले भने, ‘राणा तथा पञ्चायतकालमा र शाहीकालमा पनि देशमा स्वतन्त्रताको आन्दोलन भएको तर देश स्वतन्त्र भइसक्दा पनि जनता स्वतन्त्र हुन सकेनन् । मुलुक स्वतन्त्र रहेपनि यहाँका जनतामाथि विभेद र भेदभाव विद्यमान रहेको उनको कथन थियो।
यहाँको प्रहरी, प्रशासन र कर्मचारीलाई केन्द्र सरकारकै शासन शैलीमा चलेको छ, स्वतन्त्र भएको छैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै अध्यक्ष ठाकुरले विदेशी राजदूतहरुले मधेशको समस्याबारे कुराकानी गर्दा प्रधानमन्त्रीले मधेसीहरु यो देशका नागरिकनै नरहेको जस्ता आरोप लगाउनु दुःखको विषय भएको बताए ।
कार्यक्रममा प्रदेश नम्बर दुई का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले एकात्मक शासन सत्ताको विरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री गद्दीले यस्तो बताउदैँ एकीकृत तथा एकात्मक शासनको कारण देशमा पटक–पटक आन्दोलन भएपनि परिवर्तनको आभास हुन नसकेको बताएका छन । उनले इतिहास खोल्दै भने–जहाँनिया शासन सत्ताको विरोधमा राणाहरुको विरुद्धमा प्रजातन्त्रको लागि आन्दोलन भयो, अब एकात्मक शासन सत्ताको विरुद्धमा आन्दोलन हुन्छ ।’
संविधान संशोधनको माग राख्दै ०७२ सालमा भएको तेस्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागि मारिएका शहिद परिवारलाई प्रदेश नम्बर दुई का सरकारले सम्झना गर्दै सम्मान समेत गरेको थिए । सो क्रममा शहिदका शालिक समेत अनावरण गरिएको थिए ।






















