बीमक संघले शहिद परिवारलाई सहुलियत दिने
Tuesday Sep 17, 2019
वि.सं.२०७६ भदौ ३१ मंगलवार १२:३०

काठमाडौं । शहिद परिवारलाई सहुलियतमा बीमा सुविधा प्रदान गर्ने सम्बन्धी अर्थमन्त्रालयको पत्रको आधारमा बीमा समितिको निर्देशन बमोजिम बीमक संघले सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको मोडालिटी तयार गरेको छ । बीमक संघले तयार गरेको प्रस्ताव बीमा समितिमा आईनपुगेको बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले इन्स्योरेन्स खवरलाई बताए ।
बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा समितिले दिएको जिम्मेवारी आफूहरुले पूरा गर्न शहिद परिवारको दुर्घटना बीमा गर्नको लागि प्याकेज बनाइएको बताए ।उनले भने, ‘नर्मल लेवर एक्टलाई आधार बनाएर एउटा प्रस्ताव तयार गरेका छौं । बीमक संघबाट पारित हुन बाँकी छ ।
क्षेत्रीका अनुसार प्रतिलाख एक सय दरले सात लाखको कूल सात सय रुपैयाँ प्रिमियम राखेका छौं । त्यसमा ५० प्रतिशत छुट, आफै बीमा कम्पनीमा बीमा गर्न आएका १० प्रतिशत छुट गर्दा ३१५ हुन आउँछ, हुलदंगा आतंकवाद थप्दा प्रतिव्यक्ति ३८५ रुपैयाँमा बीमा गर्न सकिने प्रस्ताव तयार भएको छ । यद्यपि बीमक संघको बैठकले उक्त प्रस्ताव हेरफेर गर्न सक्ने सम्भावना रहेको संघले जनाएको छ ।
बीमंक संघले तयार गरेको प्रस्तावमा ५० प्रतिशत छुट दिने वा अनुदान लिने भन्ने बिषयमा छलफल भईरहेको र चाडौ नै समितिमा पेश गर्ने तयारीमा रहेको संघका कार्यकारी निर्देशक दोरन प्रसाद आचार्यले जानकारी दिए ।
बीमा समतिका कार्यकारी निर्देशक पौडेलले सहिद परिवारको लागि ७ लाखको दुर्घटना बीमा सुविधामा छुट दिने जिम्मेवारी बीमंक संघलाई दिएको बताए । ‘यस बिषयमा बीमंक संघको निर्णय पश्चात् कति छुट दिने भन्ने बिषयमा अन्तिम निष्कर्ष हुनेछ ।’
बीमा समितिले निर्जिवन बीमा कम्पनीको सिईओहरुसँग भदौ २६ गते बसेको बैठक अनुसार बीमंक संघलाई यसको ढाँचा बनाउने जिम्मेवारी दिएको थियो । भदौ १८ गते मन्त्रालयमा बसेको बैंठकमा संविधान दिवसको अवसरमा विभिन्न निकायहरुले आ–आफनो क्षेत्रबाट के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयले बीमा समितिले यस बर्ष सहिद परिवारहरुलाई सहुलियतमा बीमा गराउने निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयले बीमा समतिलाई भदौ १८ गते ‘बीमा समितिले अग्रसरता लिएर बीमा एशोसिएशनसँग समन्वय गरी सहिद परिवारलाई दुर्घटना बीमामा सहुलियतको कार्यक्रम घोषणा गर्ने ।’ भन्ने व्यहोराको पत्र पठाएको थियो ।

























