मिचिएको भूमि कहिले फिर्ता हुन्छ प्रधानमन्त्रीज्यू ?
Tuesday May 26, 2020
वि.सं.२०७७ जेठ १३ मंगलवार २०:१८

काठमाडौं – भारतले नेपालको सीमा मिचेको भूभागको नक्सा समेटेर बुधबार नयाँ नक्शा सार्वजनिक गरेको छ । सरकारले अब नेपालको नयाँ भूभागमा कहिलेदेखि भोगचलन गर्न पाउँछ भन्ने प्रश्न गम्भीर बनेको छ । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले नक्शा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेत समावेश गरेर नयाँ नक्शा प्रकाशित गरेपनि भूमि कहिलेदेखि नेपालले प्रयोग गर्न पाउने भन्ने टुंगो छैन । सरकारले चाँडै भूमि पनि फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरिरहेका छन् ।
भारतले गत कार्तिक १६ गते नेपालको भूमि समेटेर राजनीतिक नक्शा सार्वजनिक गरेपछि भारतको विरोध हुँदै आएको थियो । भारत सरकारले नेपालको कदमप्रति आपत्ति जनाएको छ । भारतको विदेश मन्त्रालयले नेपालले चालेको कदमप्रति असहमति मात्र जनाएन, यसरी नै अघि बढ्न खोजे थप समस्या पर्ने चेतावनी समेत दिएको छ । अहिले नेपालको भूमि भनिएको यो जमिन भारतले पनि आफ्नो नक्सामा राखेकाले भारतले यो जमिन छोड्छ कि छोड्दैन भन्ने विषय पनि प्रमुख रुपमा समस्या बनेको छ ।
अन्य देशले पनि यसलाई नजिकबाट नियालिरहेका छन् । संविधान बने पनि भारतले असन्तुष्टि जनाउँदै गरेको नाकाबन्दीको विरुद्धमा बोलेर चर्चा कमाएका ओलीलाई अहिले यो अवसर भएको छ । नक्सा मात्र होइन, जमिन नै फिर्ता लिएर भोगचलन गर्न शुरु गराउन सके भने उनको राजनीतिक उचाई आगामी दिनमा थप बढ्ने छ । नाकाबन्दीको विरुद्धमा ओली बोलिरहँदा नेपाली काँग्रेस भने चुपचाप बसेको थियो । ओलीले यसैलाई एजेण्डा बनाएर प्रतिनिधिसभाको यो निर्वाचनमा अत्याधिक मत लिन सफल भए । यो विषय पनि अहिले उनका लागि एउटा राम्रो अवसर बनेको छ ।
तर, भारतसँग दुश्मनी किन गर्ने भन्दै उनी चुपचाप बस्ने हो भने यो विवाद अझै बल्झने खतरा छ । नेपाल र नेपाली जनताको हित चिताउँदै सरकारले यो बेला कडा कदम चाल्नु पर्ने खाँचो छ । आफूलाई राष्ट्रवादी भनाउने प्रधानमन्त्री ओलीले भारतसँग थप छलफल र वार्ताको माध्यमबाट सिमा विवाद मिलाउन सकने सरकारको पक्षमा पनि मानिसहरुको लहर लाग्ने छ । तर, गफ मात्र गर्ने काम नगर्ने हो भने अनेकन टिकाटिप्पणी झेलि रहनु पर्ने छ ।






















