मुख्य खबर

कोरोना संक्रमणको कारणले समग्र नेपाली अर्थतन्त्र खुम्चिए

  • रामजी बगाले

    २०७७ भाद्र २१ गते, आईतवार १९:३८ मा प्रकाशित

काठमाडौं ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९)का कारण समग्र विश्वको अर्थतन्त्र खुम्चिएको छ । कोरोना संक्रमणका कारण नेपालको अर्थतन्त्र पनि गम्भीर रुपमा प्रभावित भएको छ । गत आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिसकेको भएपनि कोरोनाकै कारण यो वर्ष अर्थतन्त्र २।२८ प्रतिशतमा खुम्चिने अनुमान केन्द्रीय तथ्यांक विभागको छ । कोरोनाका कारण रोजगारी गुमेको, अर्थतन्त्रका दायरा खुम्चिएको, पर्यटन, हवाई उड्डयन, होटल, यातायात, सार्वजनिक समारोहसहितका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य, सूचना प्रविधि र ई—कमर्सबाहेक सबैजसो उद्योगधन्दा थला परेका छन् । कोभिडकै कारण धेरैजसो उद्योग व्यवसायको अवस्था शून्यमा झरेको छ ।

महामारी नियन्त्रणका लागि सरकारले ११ चैतदेखि गरेको बन्दाबन्दी १ असारबाट खुकुलो गर्दै ७ साउनदेखि खुला त गर्यो । तर, बन्दाबन्दी खोलेको एक महिना नपुग्दै पुनः ३ भदौदेखि अधिकांश जिल्लामा अघोषित बन्दाबन्दी छ । जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञाको अधिकार दिएका कारण फेरि दोहोरिएको बन्दाबन्दीले उपत्यकासहित देशका अधिकांश भाग ठप्प हुँदा अर्थतन्त्र फेरि ठप्प भएको छ ।
नेपाल राष्ट्र बैंकको ‘कोभिड—१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण’का अनुसार बन्दाबन्दीको ५ महिनामा नेपालमा एक चौथाई मजदुरले रोजगारी गुमाएका छन् भने १८ प्रतिशत मजदुरको तलब भत्ता कटौती भएको छ । अब बन्दाबन्दी नहुने र नियमित गतिविधिमा अर्थतन्त्र चल्ने हो भने पनि सामान्य अवस्थामा फर्कन ९ महिना लाग्ने केन्द्रीय बैंकको सर्वेक्षणले औल्याएको छ । पर्यटन व्यवसाय भने बन्दाबन्दीबाट सामान्य अवस्थामा फर्किएको थप १३ महिनामा मात्रै पुर्नजागृत हुने अनुमान राष्ट्र बैंकले गरेको उक्त सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

बन्दाबन्दीपछि वित्तीय साधन परिचालनमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारीको तलब कटौती गर्ने र खर्च घटाउने, लगानी साझेदार खोज्नेसहितको अर्थतन्त्रलाई संकुचनमा पार्ने काम अझै भइरहेका छन् । बन्दाबन्दीको अहिलेको अवधिमा जसोतसो अर्थतन्त्र थेगिएको भएपनि अब भने थप समस्यातर्फ थकेलिने अवस्था आएको छ । कोभिड नियन्त्रणमा नआएको र अझै कहिले कोरोना कहरबाट मुक्ति मिल्छ भन्नेसम्मको अनुमान गर्न नसकिने हुँदा अर्थतन्त्र पुर्नजागृत यतिबेला हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था पनि छैन् ।
साउनको पहिलो हप्तापछि बन्दाबन्दी खुलेकोले अब अर्थतन्त्रले गति लिने र छिटो पुर्नजागृत हुने आशा व्यवसायिक क्षेत्रले गरेको थियो । तर, फेरि बन्दाबन्दी गर्ने र बन्दाबन्दी नै कोरोनाको औषधि हो भनेझै गरेर जारी गरिएको निषेधाज्ञा, क्षेत्रगत रुपमा भएको बन्दाबन्दीले अर्थतन्त्रलाई फेरि शून्यबाट ऋणात्मक विन्दूतर्फ लगेको व्यवसायी क्षेत्रका प्रतिनिधि बताउँछन् ।

साउन पहिलो साताबाट बन्दाबन्दी खुलेसँगै बजारमा सिर्जना हुन थालेको मागले केही दिन व्यवसायीहरुलाई उत्साहित बनायो । उद्योगहरुले धमाधम उत्पादन बढाउन थालेका थिए भने आवश्यकताअनुसार कच्चापदार्थ मगाउन र आवश्यक मजदुरलाई काममा बोलाउन पनि थालिसकेका थिए । सरकारले १५ साउदेखि होटल रेस्टुरेन्ट खोल्न दिने र १ भदौदेखि हवाई उडान पनि खुुला गर्ने उद्घोष गर्दा व्यवसायिक आशा बढेको थियो । तर, सरकारले संक्रमण बढ्दै गएको भन्दै १ भदौदेखिको उडानलाई १६ भदौसम्म थकेल्यो । त्यो पनि पछिल्लो अबस्थाले सीमित गन्तव्य र दैनिक ५ सय यात्रुको सिमा तोकेर अन्तर्राष्ट्रिय उडान खुला गर्ने रणनीति बनायो ।

पर्यटन मन्त्री योगेश भट्टराई सरकारकै नीति अनुसार एक स्वदेशी र एक विदेशी वायुुसेवालाई मात्रै दैनिक उडान गर्न दिने कार्यनीति तय गरेको बताउँछन् । आन्तरिक उडानको हकमा भने नेपालका प्रमुख सहरहरु संक्रमणको जोमिखमा रहेको र राजधानीसहितका प्रमुख आर्थिक राजधानीमा कोभिड संक्रमण बढेकोले तत्कालै आन्तरिक उडान नखुलाउने निष्कर्षमा पर्यटन मन्त्रालय पुगेको उनको भनाइ छ । अब हिमाली र पहाडी क्षेत्रबाट आन्तरिक उडान सुरु गर्ने तयारी भएको पनि मन्त्री भट्टराई बताउँछन् ।

१५ साउदेखि चल्न सुरु गरिसकेका होटल रेस्टुरेन्टहरुमा चहलपहल देखिन थालेको थियो । उपभोक्ताको चहलपहल बढ्न थालेसगँै आर्थिक क्षेत्र पनि चलायमान हुन सुरु भइसकेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार १ असारदेखि खुकुलो भएको बन्दाबन्दीको एक सातामा भएको कारोबार र बन्दाबन्दी खुलेको दुई सातामा भएको आर्थिक गतिविधिले निकै सकारात्मक आशा देखाएको थियो । गोल्छा भन्छन् ‘त्यतिबेला बैंक कारोबार राम्रो देखिएको र उद्योग कलकारखानाको आवश्यकता, बस्तुको माग बढेको देखिएपनि क्षणिक मात्रै रहेछ ।’ गोल्छा बजार खुलेको छोटो समयले देखाएको लयले गर्दा छिटो अर्थतन्त रिकभरी हुने हुन्छ भन्ने अनुमान गर्दै थिए । फेरि भएको दोस्रो चरणको बन्दाबन्दीले बजारको कारोबार खस्किएको छ । खाद्यान्न र केही वस्तुमा बाहेक अधिकांश वस्तुको शिथिल झनै गहिरिएको छ ।
कोरोनाले आम जनमानसमा फैलाएको त्रास र कोरोना लागेपछि बाँचिदैन भन्ने भ्रमले पनि सुरुका दिनमा त निकै ठूलो डेरा जमाएको थियो । गएको चैत महिनामा कोरोना संक्रमित १ जना मात्रै देखिदा गरिएको बन्दाबन्दीको वेला आम जनमानसको त्रास शत प्रतिशत थियो भने अहिले संक्रमित ३४ हजार नाघ्दा डरको मात्रा १० प्रतिशतको हाराहारीमा झरेको छ । अहिले बजारमा जनमानसको चलहपहल सुरु भएको देखियो तर पनि अर्थतन्त्रमा भने गतिशिलता आएन् ।

अर्थतन्त्रका मुख्य क्षेत्रमा गहिरो प्रभाव
नेपाली अर्थतन्त्रलाई गति दिने मुख्य क्षेत्रहरुमा गहिरो गहिरो असर जति लम्बिदैँ जान्छ, त्यति नै आर्थिक मूल्य पनि चर्को हुँदै उद्योगीहरु बताउँछन् । अघिल्ला तीन आर्थिक वर्षमा औसतमा ६।९ प्रतिशतको आर्थिक वृद्धिदर समातेको नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७६÷७७ मा कोरानाकै कारण १ प्रतिशतभन्दा तल ओर्लिसकेको पनि अनुमान गर्न थालिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य क्षेत्र निर्माण, यातायात, कृषि, वैदेशिक रोजगार, पर्यटन, ऊर्जा, सेवा, उद्योगसहतिको क्षेत्र हुन । यी मध्ये अहिले अधिकांश अधिकको कारोबारमा गिरावट तथा शिथिलता आएको छ । ठूला आयोजनाको निर्माण धेरैजसो ठप्प छन् भने भएको पनि गति तत्कालै लिन सक्ने अवस्थामा छैनन् । सरकारको प्राथमिकताका क्षेत्र मानिएका ठूला निर्माणका क्षेत्र ठप्प प्राय छन् । निर्माण सामग्रीको समग्र माग आउन छोडेको छ भने भएका क्षेत्रमा पनि माग ठप्प छ । यसले अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ ।
अर्थतन्त्र चलायमान नहुँदा यसले अन्य अवयवलाई पनि ठप्प पारेको छ । निर्माण क्षेत्रले प्रयोग गर्ने सिमेन्ट, छड, वालुवा, गिट्टीहितको खपत घटेको छ । यी वस्तुहरुको उत्पादन गर्ने उद्योगहरुले अघिल्लो वर्षको तुलनामा आधाभन्दा भन्दा पनि कम उत्पादन भएको बताइरहेका छन् । नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापा बजारमा माग नभएपछि यसको खपत नहुने र निर्माण सामाग्रीको प्रयोग घट्नु स्वभाविक भएको बताउँछन् । उनी भन्छन्, ‘निर्माण क्षेत्रले प्रयोग गर्ने निर्माण सामग्री अहिलेसम्मकैे कम प्रयोग भएको छ भने सिमेन्ट उत्पादन अहिलेसम्मकै सुस्त छ ।’

बन्दाबन्दी खुलेपछि केही सुधार हुन थालेको छडको बजार मुख्य शहरहरुमा संक्रमण बढेपछि फेरि खस्किएको छ । यस्तै सामग्रीको उत्पादन भएन भन्नु र नहुनुको अर्थ बजारमा माग नहुनु नै हो । यस्ता सामग्रीको उत्पादन नहुँदा र विगतको तीब्र गति रोकिदा अर्थतन्त्रको गति कमजोर भएको पनि छड उत्पादक व्यवसायीको भनाइ छ ।

औद्योगिक क्षेत्र शिथिल
सरकारले उद्योग कलकारखानालाई कामदारको व्यवस्था आफैं मिलाउन र उद्योगभित्रै व्यवस्थापन मिलाउन दिएको निर्देशन व्यवहारिक नभएको भन्दै उद्योग कलकारखाना बन्दाबन्दी अवधिभर शिथिल भए । असारमा खुकुलो भएको बन्दाबन्दीपछि खुल्न थालेको उद्योगधन्दाका मजदुरमा कोभिड संक्रमण पुष्टि हुन थालेको छ । कोभिड परीक्षणपछि धमाधम कामदारको पनि पोजेटिभ रिपोर्ट आउन थालेपछि भर्खर—भर्खर चल्न थालेका उद्योगहरु राम्रोसँग सञ्चालन हुन नपाएपछि यसको प्रत्याक्ष मारमा छन् । कोरोना प्रभावका कारण भैरहवा, वीरगञ्ज, विराटनगरसहतिका औद्योगिक क्षेत्रहरु एक पछि अर्को ठप्प हुँदै गएका छन् । कोभिडको हटस्पट बनेका कारण वीरगन्जका उद्योग आफैं बन्द भए भने स्थानीय तहले लगाएको निषेषाज्ञापछि क्षेत्रगत रुपमा धेरै उद्योग धन्दा चल्न सकेनन् ।

कोभिडले सबैभन्दा बढी प्रभाव पारेको, ६ महिनादेखि ठप्प भएको व्यवसायमा पर्यटन र यातायात क्षेत्र पनि हो । यो क्षेत्रमा परेको प्रभाव र गढेको आर्थिक शिथिलता अब पूर्ति गर्ने नसक्ने अवस्थामा पुगेको छ । हवाई क्षेत्र समान्य अवस्थामा सधै प्राथमिकता पर्ने र अन्य बन्द वा राजनीतिक अस्थिरतमा पनि प्राथमिकता परेको हवाई क्षेत्र अहिले ठप्प छ । कुनै पनि चाडबाड र मौसम नभनी अहोरात्र खटिरहने हवाई क्षेत्रका कर्मचारी र पाइलट इन्जिनिर ६ महिनादेखि फूर्सदिला छन् ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रहादुर बस्नेत हवाई क्षेत्रमा परेको प्रभाव र क्षति अनुमान भन्दा बाहिर गएको बताउँछन् । उनले भने ‘यो क्षेत्रले कति क्षति व्यहोर्यो भनेर अब हिसाव गर्न नसकिने भइसकेको छ । क्षति जति भयो भयो, अब यसलाई पुनस्र्थापना गर्न लाग्नुपर्छ ।’ बस्नेतका अनुसार संसारभरी आन्तरिक हवाइ उडान खुला भइसक्दा नेपालमा अहिलेसम्म खुलेको छैन् । आन्तरिक वायुसेवा सुरक्षा मापदण्ड अपनाएर खुला गर्न सकिने भएपनि सरकारी प्राथमिकतामा परेको छैन् । यो क्षेत्र बन्द हुँदा यसले अर्थतन्त्रमा पार्ने प्रभाव अर्बौ रुपैयाँको भएको पनि बस्नेत बताउँछन् । बन्दाबन्दीले विगत ६ महिनामा बुद्ध एयरले मात्रै करिब ३ अर्ब रुपैयाँको नोक्सानी व्यहोरिसकेको छ । यो नोक्सानी न पूर्ति हुन सक्छ न त अब यति समयको लागि मात्रै भन्ने छ । त्यसैले अर्थतन्त्र चलाउन पनि अब हवाई क्षेत्रलाई खुला गर्नुपर्ने र सबै नेपाली कोभिडसगै बाँच्नुपर्ने बस्नेत बताउँछन् ।

कोभिडको प्रभावले टिक्न नसक्ने देखेपछि कतिपय होटल र रेस्टुरेन्ट स्थायी रुपमै बन्द भएका छन् । कतिपयले विकल्प खोज्न थालेका छन भने कतिपय अर्को व्यवसायको प्रारम्भ गर्न पनि थालिसकेका छन् । पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किएको अवस्थामा यसैमा लाग्ने र अहिले टिक्नको लागि भएपनि कृषि पर्यटनमा लाग्न थालिएको पर्यटन व्यवसायी राजन सिंखडा बताउँछन् । उनी भन्छन्, ‘महंगो भाडा तिरेर गर्ने व्यपार व्यवसाय ठप्प भएको बेला अरु विकल्प भेटिएको पनि त छैन् ।’
पर्यटन क्षेत्रले गति समात्ने आशामा पछिल्ला वर्षहरुमा सानादेखि ठूलासम्म होटलमा ठूलो लगानी विस्तार भएको थियो । तर, ऋण लिएर चलिरहेका व्यवसायीलाई साँवाको किस्ता र ब्याज बुझाउन नसक्ने अवस्थामा पु¥याएको छ । निर्माणाधीन होटलहरुको लागत बढेको छ । हवाई र सडक यातायात दुवै क्षेत्र ठप्प छन् । जसका कारण पर्यटक तत्काल आइहाल्ने अवस्था पनि छैन् । होटल संघ नेपाल हानका अनुसार हाल नेपालमा करिब ४ हजार कोठाका होटल पर्यटकीय सेवाका लागि तयार छन् । ती सबै होटलका कोठा खाली छन् । यी कोठालाई सरकारले क्वारेन्टिनमा प्रयोग गर्ने भनिएपछि सरकारकै अस्थिर निर्णयका कारण होटल व्यवसायीले काम पाएका छैनन् भने क्वारेन्टिन बनाउने भनिएका सबैजसो होटल अहिले पनि खाली छन् । जसले गर्दा आशा गरिएको थोरै अर्थिक गतिविधि पनि निराशामा नै धकेलिएको स्थिति छ ।
कोभिडले महंगी बढयो

कोभिडकै कारण बजारमा महंगी बढेको छ । गत वर्ष २०७६÷७७ मा महंगी दर औषतमा ६।१५ प्रतिशत रहेको छ । गत वर्ष औसत मुद्रास्फीति ६।१५ प्रतिशत थियो भने अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ४।६४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । बजारमा आर्थिक मन्दी बढेकोले खर्च गर्ने क्षमता पनि घट्दा सहर बजारमै जताततै घर खाली भएको भेटिन्छ भने खर्च धान्न नसक्ने अवस्थाका कारण भएको घर र सम्पत्ति बेच्च खोज्नेको जमात पनि बढ्न थालेको छ । घरजग्गाको कारोबारमा शिथिलता छ । खरिदकर्ता नभएपनि यो व्यवसाय लामो समयपछि उचाईमा पुगेर ओरालो लगेको पनि घरजग्गा व्यवसायीहरु बताउँछन् । गत साउनमा मात्रै करीब ३८ हजार घरजग्गा किनबेच भएका छन् । जुन बन्दाबन्दी असारको तुलनामा पनि न्यून हो । असारमा करीब ४२ हजार घरजग्गाको कारोबार भएको थियो । सामान्य अवस्थामा मासिक ६० हजारसम्म घरजग्गा कारोबार हुने गरेको छ ।
कोभिडको असरले विगत एक वर्ष नेपालमा हुने बस्तु आयात १५।६ प्रतिशतले घटेको छ । खुम्चिएको आयातले पनि अर्थतन्त्रको शिथिलता देखाउँछ । वस्तुको माग र उपभोगमा कमी आउँदा चालु आर्थिक वर्षको पहिलो महिनामै आयात करीब २० प्रतिशतले घटेको थियो । साउनमा करीब ८५ अर्ब ८० करोड रुपैयाँको मात्र सामान आयात भएको छ, जुन अघिल्लो वर्ष १ खर्ब ७ अर्ब रुपैयाँ हाराहारीमा थियो । पूँजी निर्माणमा सहयोग गर्ने वस्तु र उपकरणको आयात ह्वात्तै घटेको तथ्यांकले देखाएको छ ।
आयात घटेपछि देशमा भित्रिने भन्दा बाहिरिने रकम कम भएका कारण शोधनान्तर बचत भने ८२ अर्ब ४१ रुपैयाँको करोड रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को एक वर्षको तथ्यांकले देखाएको छ । गत वर्षको असार मसान्तमा शोधनान्तर ६७ अर्ब ४० करोड रुपैयाँ घाटामा थियो । अहिले आयात घटेको र कोभिडको असर रहिरहेको हुँदा यस्तो बचत सञ्चिति पहिलो पटक उल्लेख हुन पुगेको देखिएको छ । तर, अर्थतन्त्र चलमान नहुँदा संचित भएको विदेशी मुद्रा र शोधान्तर बचत पनि अल्पकालीन मात्रै हुने अर्थशास्त्री बताउँछन् ।

गत वर्ष ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने निर्यात ९७ अर्ब ७१ करोड रुपैयाँको छ । गत वर्ष कुल वस्तु व्यापार घाटा १६।८ प्रतिशतले खुम्चिएर १० खर्ब ९९ अर्ब ९ करोड रुपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष २०७५÷७६ मा यस्तो घाटा १३।५ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले पहिलो साता सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सूचना प्रविधिबाहेकका सबै क्षेत्र शिथिल

कोभिडले निम्त्याएको बन्दाबन्दीले सूचना प्रविधि बाहेकका सबैजसो क्षेत्र शिथिल भएको उल्लेख छ । सूचना प्रविधिको क्षेत्र र ई–कमर्सका क्षेत्रलाई कोभिडले उकास्यो भने अन्य क्षेत्र ठप्प नै भएका छन् । बन्दाबन्दीले सबैभन्दा लाभ दिलाएको क्षेत्र नै सूचनाप्रविधिसँगै ई–कसर्म हो । वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार कोभिडले ई–कमर्सको व्यवसाय फस्टाएको छ । ई–कमर्समा नयाँ लगानीकर्ता थप हुनेदेखि भएभरका लगानीकर्ताको आँखा त्यतै गाडेका छन् । वाणिज्य विभागले ई–कमर्र्सको क्षेत्रमा बढेको लगाबलाई नियन्त्रण गर्न नयाँ ऐनको नै तयारी समेत गरिरहेको छ । हाल देशमा १५० वटा इ–कमर्सका व्यवसाय रहेका र यसले दैनिक १० हजार वटा बस्तुको कारोबार गरिरहेको अनलाइन सपिङ ग्यापुका संस्थापक सीईओ ज्ञानेन्द्र खड्का बताउँछन् ।

नेपाल उद्योग परिसंघ ९सीएनआई०का उपाध्यक्ष अनुज अग्रवाल पनि कोडिभले मोबाइल, इन्टरनेटसहतिको सूचना प्रविधि, मोटरसाइकल लगायतका केही सामग्री बाहेकका कारोबार खस्किएको बताउँछन् । अग्रवाल भन्छन्, ‘कोभिडपछि सबैभन्दा छिटो रिकभर हुने क्षेत्र पनि यही हो । फास्ट मुभिङ कन्ज्युमर गुड्स ९एमफएमसीजी०को कारोबार बढेकोले उपभोक्ता महँगो छोडेर सस्तो सामान खरीद गर्नतिर लागेका छन् ।’

नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी कोभिडको गहिरो असर यो क्षेत्रलाई पनि परेको बताउँछन् । केसी भन्छन्, ‘मदिराको व्यापार अन्य समयको तुलनामा एक तिहाइ पनि हुन सकेको छैन् । कोभिडले थिलथिलो भएको अर्थतन्त्र चालयमान नभएपछि मानिसहरुले मदिरामा खर्च गर्न छोडेका छन् । सबैभन्दा धेरै मदिराको खपत गर्ने क्षेत्र होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस हुन । यी क्षेत्र अहिले ठप्प भएका कारण मदिराको प्रयोग स्वाट्टै घटेको केसी बताउँछन् । तयारी पोशाकसँग सम्बन्धित व्यवसायको कारोबार बन्दाबन्दी खुकुलो भएपछि असारमा बढेको देखिएको थियो । साउन लाग्दा नलाग्दै भएका सबै सामाना सकिएका र बाँकी सामान नआएको महाबौद्धस्थित होलसेल व्यपारी सरोज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘तीन महिनादेखि ठप्प रहेको व्यापार व्यवसाय असारमा एकैपटक धेरै भयो । तर, साउनदेखि भने भएको सामान सकिएको, नयाँ सामान नआएको र तत्कालिन आवश्यकता पूरा भएकोले होला त्यसपछिको व्यापार खस्किएको छ ।’
कोभिड संक्रमण फैलिएपछि महाबौद्धका होलसेल बजार अहिलेको निषेधाज्ञा हुनु एक साता पहिले नै बन्द भएका थिए । देशको ठूलो होलसेल व्यापार हुने यो क्षेत्रमा कपडा बाहेकको व्यापार खासै भएन् । अत्यावश्यक सामानको व्यापार भएपनि अधिकांश व्यवासायमा ग्राहक नै नआएको व्यवसायी बताउँछन् ।

अन्य समय जेठदेखि नै तीजलाई, असार र साउनमा दशैंका लागि सामान बेचेर भ्याइनभ्याई हुने समय भएपनि यो वर्ष कोभिडकै कारणले तयारी बस्तुमा ग्राहकको रुचि ठप्पै भएको मांशगल्लीका होलसेल व्यापारी गोकुल पौडेल बताउँछन् । पौडले भन्छन्, ‘चैतदेखि सुरु बन्दाबन्दीपछि ठप्प भएको व्यवसाय असारमा खुकुलो भएको र साउन पहिलो साताबाट हटेको बन्दाबन्दीले पनि यो व्यवसायमा उत्साह ल्याउन सकेन् ।’ दिनभरि पसल खुला गरेपनि ग्राहक नै नआउने दुखेसो पौडेलेको छ । बाहिरी क्षेत्रमा भएका पसलमा असार र साउनमा केही व्यापार भएपनि भित्रि पसलहरुको हालत भने निकै खराब भएको बुझाइ उनको छ ।
अर्थतन्त्र चयालमान नहँुदा बैंकका पैसा थुप्रियो
अर्थतन्त्र चलायमा नहुँदा बैंक तथा वित्तीय संस्थाको कारोबार घटेको छ । बैंकमा ऋण लिने, सावाँ व्याज तिर्ने, ऋण नवीकरण गर्ने वा नयाँ लगानीकर्ताको चाप कम भएपछि बैंकमा लगानीयोग्य रकम ९तरलता० बढेको । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको दर घटेको छ । ऋणको चाप नभएपछि अहिले बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७५ करोड रुपैयाँ लगानीयोग्य रकम ९तरलता० थुप्रिएको छ । केन्दीय बैंकको तथ्यांक अनुसार २०७७ असार मसान्तमा बैक तथा वित्तीय संस्थामा ३८ खर्ब ४० अर्ब निक्षेप छ । बैंक तथा वित्तीय संस्थाको पूँजी–कर्जा–निक्षेप अनुपात ९सीसीडी रेसियो० करीब ७१ प्रतिशत हाराहारीमा छ । यो अनुपात सामान्य अवस्थामा ८० प्रतिशतको सीमासम्म जाने पाउने व्यवस्था छ ।

कोभिडकै कारण गत वर्ष सबैजसो बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ । अधिकांश वित्तीय संस्थाले बर्षेनी नाफा बढाउँदै आएकोमा यो वर्ष लगानी गर्न नपाएका, साँवा र व्याज समयमा नआएका र ऋणको किस्ता समयमा नआउने तथा लगानीको दायरा नबढ्दा बैंक तथा वित्तीय संस्थाका नाफा घटेको पनि उल्लेख छ ।

लगानीयोग्य रकम पर्याप्त भएकोले अहिले बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर सस्तो भएको छ । राष्ट्रिय बाणिज्य बैंकले त सबै कर्जालाई ९ प्रतिशतभन्दा कम बनाएको छ । अन्य निजी बैंकको पनि व्याजदर गत वर्षको तुलनामा उल्खेख्य प्रतिशतले घटेको छ । बैंकहरुले ग्राहक तान्न विभिन्न स्किम पनि अगाडि सारेका भएपनि लगानी बढाउन भने सकेको छैन् । निषेधाज्ञा घोषणा भएपछि त त्यो पनि रोकिएको छ ।
वाणिज्य बैकहरुमा ३० साउनमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । ऋण लगानी भने २८ खर्ब ७८ रुपैयाँ मात्रै छ । असार मसान्तका तुलनामा बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ भने ऋण लगानी २२ अर्ब रुपैयाँले घटेको देखिन्छ । व्यवसायीहरु जोखिम मोलेर लगानी गर्न तयार नभएकाले बनिसकेका योजना पनि धमाधम स्थगित गर्दा बैंक ऋणको माग घटेको हो । आर्थिक वर्ष २०७६÷७७ को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले उठाउनुपर्ने करीब ५१ अर्ब ७५ करोड रुपैयाँ उठाउन सकेका छैनन् । राष्ट्र बैंकले गत पुससम्म नियमित साँवा ब्याज भुक्तानी गरिरहेका ग्राहकले त्यसयता रकम भुक्तानी गर्न नसके पनि आगामी पुस मसान्तसम्म उनीहरुलाई खराब ऋणीको सूचीमा नराख्न र धितो लिलाम नगर्न बैंंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । तर, त्यस वेलासम्म पनि व्यवसाय चलायमान भएन भने ऋणीहरुको ऋण तिर्ने क्षमता झन् कमजोर हुँदै जान्छ ।

चाडपर्वको मुखमा पनि अर्थतन्त्र ठप्प
बर्षेनी हरेक चाडपर्वमा नेपालीले गर्ने आर्थिक गतिविधिका कारण अर्थतन्त्र चलायमान हुने गरेको छ । जुनसुकै मौसममा हुने चाडपर्व बस्तु तथा सेवाको माग बढाउने र बजारलाई चलायमान बनाउँछ । लत्ताकपडा, भाडाकुँडा, सुनचाँदी, घरायसी सरसामग्रीदेखि सवारी साधनसम्मको कारोबार दशैं–तिहारमा अन्य समयको तुलनामा उल्लेख्य मात्रामा बढ्ने गरेको छ । चाडबाड सुरु भएपछि बर्षभरी हुने व्यपारका अन्य समयमा एक दुई महिनामा नै हुने गर्थो । अरु वेला शिथिल भएको व्यवसाय हरेक वर्ष दशैं–तिहारको मौसमले बहार ल्याउने व्यवसायी बताउँछन् । तर, यो वर्ष यो अवसर खेर जाने जस्तो देखिएको उद्योग बाणिज्य महासंघका उपाध्यक्ष गोल्छा बताउँछन् ।
कोरोनाभाइरसले सिर्जना गरेको संकट तत्काल समाधान नहुने देखिएपछि यो वर्ष दशैं–तिहारमा पनि कारोबार चलायमान नभएर ठप्प बनाइदिएको छ । हरके वर्ष दशैं–तिहारको लागि आउने विभिन्न सामग्रीको उपहार र बहार यो वर्ष पनि व्यवसायीले ल्याइसकेका हुने थिए । अब आउने यस्ता अवसर यो वर्ष खासै अर्थपूर्ण हुने देखिदैन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका कोभिडको असरले बजार चलायमान सिमित समयको लागि मात्रै नभएको हो तर, नेपाली जीवनको अन्योलपूर्ण भविष्य भने झनै चिन्ताको विषय भएको तर्क गर्छन् । ठूला व्यवसायीको धेरैतिर लगानी हुने भएकाले एउटा व्यवसाय बिग्रे पनि अर्कोबाट थेग्ने क्षमता होला तर मध्यमस्तर र मझौला व्यवसाय भने नराम्ररी विग्रिइसकेको छ । अब यसलाई कसरी सुधार्ने र पुरानो लयमा कसरी फर्काउने भन्ने चिन्ता गम्भिर भएको तर्क उद्योगी व्यवसायीको छ ।

सवारी साधनको प्रमुख कारोबारको मौसम मानिने यही वेला हुने नाडा अटो शो यो वर्षका लागि स्थगित भइसकेको छ । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार यो वर्ष कारोबार बढ्ने त आशा नभएको र सबै व्यवसायीलाई आफैं कसरी टिक्ने भन्ने चिन्ता बढेको छ । अर्थतन्त्र चलायमा नभएका र विलाशिता मानिने सवारीसाधनलाई यो वर्ष उपभोक्ताले नरुचाउने भएकोले नै अटोमोबाइलको कुम्भ मेला यो वर्ष नहुने भएको हो ।

अर्थशास्त्रीहरु कोरोनाभाइरसले सिर्जना गरेको संकट लम्बिइरहेकाले अर्थतन्त्रमा अहिलेभन्दा निकै ठूलो नकारात्मक अवस्था सिर्जना हुने अनुमान गर्छन । अर्थशास्त्री केशव आचार्य गरीबी व्यापक मात्रामा बढ्ने, लाखौंले रोजगारीको अवसर गुमाउने र अर्थतन्त्र पुरानै लयमा फर्कन दुई वर्षसम्म लाग्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘दुई वर्ष आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा माथि नजाने सम्भावना छ । अर्थव्यवस्थाको न प्राण जान्छ न उठेर हिंड्न सक्ने अवस्था नै छ ।’

अर्थशास्त्री अर्थव्यवस्थाको भविष्य झन् प्रतिकूल हुँदै गएको निष्कर्षमा पुगिसकेका छन् । आर्थिक क्रियाकलाप नबढेर सरकारको राजस्व असुली नै घट्ने र सरकारको नियमित दायित्व भुक्तानी गर्न पनि नसक्ने गम्भीर स्थिति समेत सिर्जना हुनसक्ने जोखिम बढेको देखिन्छ । अहिले कोरोनो भाइरसका कारण मान्छेको ज्यान जोगाउन अर्थतन्त्र ठप्प बनाउनुपर्ने अवस्था छ । मानवीय स्वास्थ्य जोगाउने र अर्थतन्त्र पनि चलायमान राख्ने सन्तुलन खोज्न सजिलो नभएको तर्क अर्थशास्त्री गर्छन् ।

पूर्व सचिव रामेश्वर खनाल भने अर्थतन्त्रमा विकल्पहीन जोखिम निम्तिने र सामाजिक विचलन नै हुने स्थितिको नभएको बताउँछन् । अनुमान गरिएको अनुपातमा रेमिटेन्स नघटेको तथा नेपालको निर्वाहमुखी आर्थिक प्रणालीका कारण पनि थेग्नै नसकिने परिमाणको जोखिम नआउने तर्क खनालको छ । अर्थतन्त्रलाई जतिसक्दो चाँडो चलायमान बनाउन सकिएन भने ज्यालादारी आय गर्ने र तल्लो तहका नागरिकको जीवन अत्यन्तै कठिन अवस्थामा पुग्ने पनि अर्थशास्त्रीको भनाइ छ ।

कोरोना संकट गहिरिदै जाँदा मानिसहरुको आम्दानी खस्किने कारण बजारमा वस्तु र सेवाको माग घट्दै गएको छ । जसको सीधा असर सरकारी राजस्वमा पनि गर्न थालेको छ । राजस्व आम्दानी कम भएपछि सरकारको खर्च गर्ने क्षमता झन् ओरालो झर्छ । जसलाई थेग्न अत्यावश्यक कामका लागि सरकारले ऋणमा भर पर्नुपर्छ । अहिले नै देशको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको करीब ३७ प्रतिशत पुगिसकेको छ । जुन चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५१ प्रतिशतसम्म पुग्नसक्ने जोखिम छ ।

http://noc.org.np/