प्रभु बैंकद्धारा कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यूआर कोड भुक्तानी शुरु
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार ०८:१६

काठमाडौं । प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङ्गणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उद्घाटन गरे ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भमा प्रभु बैंक र फोन पेको संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झन्झट हटेकोे बताए । कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यूआर कोड सेवाबाट अझै सहज रुपमा झन्झटमुक्त कारोबार गर्न पाउँदा हामी बीचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे ।
























