मुख्य खबर

ग्लोबल आईएमई बैंक कसरी ग्लोबल आईएमई बैंक बन्यो ? बैंकका अध्यक्ष चन्द्र ढकालले यसरी लगाए बेलिबिस्तार

  • आर्थिक प्लस संवाददाता

    २०७८ बैशाख २ गते, बिहीबार १८:३३ मा प्रकाशित

काठमाडौं । राष्ट्र बैंकको कडिकडाउ पछि पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा ‘बिग मर्जर’को विषयले प्राथमिकता पाएको छ। कतिपयले त यसलाई फेशनकै रुपमा लिएर सोही अनुरूपका गतिबिधि गर्न थालेका छन्।

हिमालयन र इन्भेस्टमेन्टजस्ता ठूला बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगिरहेको बेला नबिल, मेगाजस्ता बैंकले पनि मर्जरका लागि पार्टनर खोजिरहेका छन्।

२०६८ सालतिर तत्कालीन नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले एउटै समूहबाट लगानी भएका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान नयाँ नीति अगाडि सारेका थिए। त्यसयताको एक दशकमा नेपालमा २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा प्राप्तिमा सामेल भए। जसका कारण १६१ को इजाजत खारेज भएर ५२ संस्था बनेका छन्।

धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा सामेल भए पनि ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जर निकै ठूलो र सफल मानिन्छ।

झन्डै ६ वर्ष सञ्चालनमा रहेको र ८ अर्ब चुुक्ता पुँजी भएको जनता बैंक १२ अर्बभन्दा धेरै चुक्ता पुँजी भएको ग्लोबल आईएमईसँग मर्ज भएपछि यसले बैंकिङ क्षेत्रमा तरंग नै ल्यायो।

अझ चाखलाग्दो विषय के छ भने ग्लोबल आईएमई १८ वटा बैंक तथा वित्तीय संस्थाहरुको मर्जरबाट बनेको बैंक हो।

राष्ट्र बैंकले ल्याएको मर्जरको नीतिलाई पहिलो पटक कार्यान्वयन गरेर ग्लोबल आईएमईले मर्जर प्रक्रिया सुरु गरेको बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बताउँछन्।

‘२०६८ सालको पहिलो मर्जरदेखि जनता बैंकसम्म आउँदा १८ वटा संस्था मिलाएर ग्लोबल बैंक एक उदाहरणीय बैंक बन्न सफल भएको छ,’ ढकालले भने, ‘हामीले सरकारको नीतिलाई कार्यान्वयन गर्दै ठूला वाणिज्य बैंक कसरी सफल हुनसक्छन् भन्ने उदाहरण पेस गरेका छौँ।’

ढकाल निरन्तर आफ्नो व्यवसायलाई कसरी सफलतातिर लैजान सकिन्छ भनेर सोचिरहेका हुन्थे। त्यही सोचका कारण उनले मुलुकमै पहिलो पटक मर्जर प्रक्रिया अगाडि बढाए।

‘सरकारले ल्याएको नीतिलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता थियो,’ ढकालले भने, ‘हामीले रेमिट्यान्सको कामलाई पनि औपचारिक च्यानलमा ल्याउने नीतिलाई कार्यान्वयन गरेका थियौँ।’

एकपछि अर्को गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थालाई मर्ज र प्राप्ति गर्दै गएपछि ग्लोबल आईएमईले ठुल्ठूला प्रोजेक्टमा लगानी गर्न सकेको उनको अनुभव छ। एउटै परियोजनामा सात आठ अर्ब ऋण लगानी गर्न सक्ने क्षमतामा बैंक पुगेको छ।

जनता बैंकसँगको मर्जरपछि बैंकले चुक्ता र रिजर्भ गरेर झन्डै ३० अर्ब पुँजी पुर्‍याएको थियो। जुन मुलुकका बैंकहरुको तुलनामा सबैभन्दा ठूलो पुँजी हो।

ग्लोबल आईएमईको मर्जरको कथा
ग्लोबल आईएमई कसरी १८ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर र प्राप्ति गर्न सफल भयो त?

यसको कथा सुरु हुन्छ २०६८ माघ २० गते। जुन दिन ग्लोबल बैंक र आइएमई फाइनान्स मर्ज भएका थिए।

ग्लोबल बैंक र आईएमई फाइनान्स दुवै संस्थाका मुख्य लगानीकर्ता आईएमई ग्रुप नै थियो। ती संस्थाका प्रमोटरको सेयर पनि दुवैतिर थियो।

त्यो बेला नेपाल राष्ट्र बैंकको नीति पनि एउटै समूहले चलाएका संस्थाबीच मर्जर गराउने थियो।

‘ग्लोबल बैंक र आईएमई फाइनान्सबीचको मर्जर मुलुककै पहिलो मर्जर थियो,’ उक्त मर्जर प्रक्रियामा सामेल भएका ग्लोबल आईएमई बैंकका कम्पनी सेक्रेटरी तथा कानुनी सल्लाहकार विष्णु बास्कोटाले भने, ‘यहीँबाट बैंक तथा वित्तीय संस्थाबीचको मर्जर सुरु भएको थियो।’

त्यसबेला ग्लोबल बैंक मर्जरमा जानुमा दुई कारण रहेको उनी बताउँछन्।

‘पहिलो, ग्लोबल बैंकलाई नेटवर्क विस्तार गर्नु थियो। ग्लोबल बैंक र आईएमई फाइनान्स एउटै बनाएर सञ्चालन गर्दा लागत खर्च कम हुने र व्यवसाय बढी हुने अवस्था थियो,’ उनी भन्छन्, ‘दोस्रो, राष्ट्र बैंकको नीतिले पनि मर्जरलाई प्रोत्साहन गरेकोले उनीहरु एक भएर ठूलो संस्था बनाउन चाहन्थे। दुवै संस्था एउटै समूहले सञ्चालन गरेकाले मर्ज गरेर प्रतिफल राम्रो निकाल्न सकिन्छ भन्ने सञ्चालकहरुको निर्क्यौल थियो।’

संस्थाको पुँजी विस्तारका लागि सेयर धनीलाई लगानी गर्न वा राइट सेयर जारी गर्न पनि सकिन्थ्यो। तर, यसो गर्दा बैंकको पुँजी विस्तार भए पनि व्यवसाय बढाउन समय लाग्थ्यो।

‘व्यवसाय बढाउन मर्जर र एक्विजिसन सबै भन्दा राम्रो उपाय थियो,’ बास्कोटा भन्छन्, ‘यसले कर्जा क्षमता, नेटवर्क र व्यवसाय क्षमता बढाउँछ।’

ग्लोबल बैंक र आईएमई फाइनान्सबीच मर्जर प्रक्रिया चलिरहेको थियो। त्यही बेला लर्डबुद्ध फाइनान्सलाई पनि गाभ्ने कुरा चल्यो।

लर्डबुद्ध फाइनान्सका झन्डै एक दर्जन प्रमोटर पनि ग्लोबल बैंकसँग जोडिएका थिए।

‘एक्लै चल्न गाह्रो भयो, हामीलाई पनि गाम्नु पर्‍यो भन्ने प्रस्ताव लर्डबुद्ध फाइनान्सबाट आयो,’ बास्कोटाले त्यो बेलाको कुरा सुनाए, ‘आईएमई फाइनान्ससँगसँगै लर्डबुद्ध पनि ग्लोबलमा गाभिने निर्णय भयो।’

दुवै संस्था ग्लोबल बैंकमा आए र २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु भयो।

ग्लोबल आईएमई बैंकको मर्जर र प्राप्ति त्यत्तिकैमा रोकिएन। आठ–नौ महिनापछि फेरि सोसल डेभलपमेन्ट बैंक र गुल्मीमा स्थापना भएको गुल्मी विकास बैंक पनि ग्लोबल आईएमई बैंकसँग गाभिए।

सन् २०१३ मा तीनवटा संस्थासँग मर्जमा गइसकेपछि ग्लोबल आइएमई बैंकले व्यवसायिक सफलता हात पार्न थालिसकेको थियो। अर्को वर्ष ‘बैंक अफ दि इयर २०१४’बाट सम्मानित भयो। त्यसै वर्ष अस्ट्रेलियामा सम्पर्क अफिस खोलेको बैंकले ‘क’ समूहको कमर्स एन्ड ट्रस्ट बैंकलाई पनि आफूमा गाभ्यो।

सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ अवार्ड हात पारेको ग्लोबल आईएमईले अरु दुई संस्थालाई पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो। जुन आफ्नो समूहभन्दा बाहिरका थिए। राष्ट्र बैंकले आफ्नो समूहभन्दा बाहिरकालाई पनि मर्ज गर्ने नीति ल्याइसकेको थियो।

लमजुङमा भएको प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग मर्ज भयो। रिलायबल बैंक पनि कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक पहिले नै मर्ज भइसकेका थिए।

यहाँसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा माथि पुगिसकेको थियो। त्यसपछि ग्लोबल आईएमईले हाथवे फाइनान्सलाई पनि आफूमा गाभ्यो।

जनता बैंकसँग बिग मर्जर
ससाना मर्जरमा एकपछि अर्को सफलता हात पार्दै थियो ग्लोबल आईएमई बैंकले। ०७६ सालमा आइपुग्दा भने बैंकले ‘बिग मर्जर’ अगाडि बढायो। झन्डै ६ वर्ष सञ्चालनमा रहेको जनता बैंक र ग्लोबल आईएमई मर्जमा गए। जसको एकीकृत कारोबार ०७६ मंसिर २० देखि सुरु भयो।

‘जनतासँग कुरा चलेको ६ महिनामै एकीकृत कारोबार गर्न सफल भयौँ,’ बास्कोटाले भने, ‘दुई ठूला बैंक मर्ज हुँदा पनि सबै कुरा समयतालिका अनुसार हुँदै गयो।’

जनता बैंकले पनि ८ वटा अन्य साना वित्तीय संस्थालाई आफूमा गाभ्न सफल भएको थियो। बास्कोटाका अनुसार जनता बैंकसँग मर्जपछि ग्लोबल आईएमई १८ वटा संस्था गाभिएर बनेको ठूलो बैंक बन्न पुग्यो।

दुई बैंक मर्ज हुँदा ग्लोबल आईएमईमा २५ सय र जनतासँग २ हजार कर्मचारी थिए। समायोजना हुँदा कर्मचारी संख्या ४ हजार पुगेको थियो भने ३ सय ७५ शाखा पुगेका थिए। दुवैको झन्डै बराबरी शाखा थिए।

जनतासँग ८ अर्बको चुक्ता पुँजी र ग्लोबल आईएमईसँग १२ अर्बभन्दा धेरै चुक्ता पुँजी थियो। दुवै मिलाउँदा झन्डै २० अर्बको चुक्ता पुँजी बन्यो।

ग्लोबलसँग मर्ज हुँदा जनता बैंकको व्यवसायिक कर्जा १ खर्ब ५० अर्बको हाराहारीमा थियो। मर्जपछि ग्लोबल आईएमईको व्यवसाय २ खर्ब २९ अर्बभन्दा माथि लाग्यो। प्रमोटरको संख्या ३ हजार र सेयरधनीको संख्या ३ लाख हाराहारी पुग्यो।

ग्लोबल आइएमई बैंक र जनताबीचको मर्जर पूर्ण रुपमा सफल भएको छ।

‘ठूला संस्थाको मर्जरपछिको सिनर्जी आउन डेढदुई वर्ष लाग्छ,’ बास्कोटा भन्छन्, ‘हाम्रो मर्जरमा कुनै पनि विषय बाँकी छैन। हामी फुल फ्लेजमा छौैँ।’

कर्मचारी समायोजन
वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी वा अन्य वित्तीय कम्पनीहरुको काम गर्ने शैली फरकफरक हुन्छ।

त्यसरी फरक प्रकृतिका संस्था मर्जपछि कर्मचारी समायोजन ठूलो विषय बन्छ। यसलाई सम्बोधन गर्न ग्लोबल आईएमईले विशेष रणनीति अपनाएको छ।

‘क’ वर्गका बैंकसँग मर्जरमा जाँदा समान पदमा र फाइनान्स तथा विकास बैंकसँग मर्ज हुँदा एक तह घटाएर समायोजन गरियो। ग्लोबल आईएमईमा विकास बैंक मर्ज हुँदा अफिसरहरु जुनियर अफिसर भएर आए।

‘मर्जरमा आएका कर्मचारीलाई कसरी मोटिभेट गर्ने भनेर हामीले विशेष काम गर्‍यौँ,’ बास्कोटाले संस्थाको नीतिबारे भने, ‘ग्लोबल आईएमई बैंकको प्रणालीअनुसार काम गर्न तालिमको व्यवस्था गर्‍यौँ।’

एउटा कर्मचारीलाई वर्षभरीमा १५ पटकसम्म तालिमको व्यवस्था गरेको उनी बताउँछन्।

मर्ज भएर आउने कर्मचारीमा हुने अर्को प्रमुख समस्या हो– डर। ठूलो संस्था, धेरै कर्मचारी, व्यवस्थापनदेखि सीईओसम्म अर्को संस्थाको हुने भएपछि कर्मचारीलाई पछि परिने हो कि भन्ने डर हुनसक्छ।

ग्लोबल आईएमई बैंकले त्यो डरलाई न्यूनीकरण गर्ने विभिन्न उपाय निकाल्यो। बैंकले समायोजनमा आएका कर्मचारीलाई भन्यो, ‘सबैलाई क्षमताअनुसार व्यवहार हुन्छ। कसैलाई पनि अवसरमा भेदभाव हुनेछैन तर तपाईहरुले आफ्नो क्षमतालाई तिखार्दै लैजानु पर्छ। त्यसको लागि हाामी तालिम दिन्छौं।’

बैंकले कर्मचारीलाई तालिम दिएर अभ्यस्त गराउँदै लग्यो।

‘१८ वटा संस्था लिएर आउँदा कर्मचारी समायोजनमा त्यो खालको फियर फ्याक्टर देखिएको छैन,’ बास्कोटाले भने।

बढुवा, सरुवा, अन्य कुरामा समान व्यवहार भयो। व्यवस्थापन, सीईओदेखि तल्लो तहका कर्मचारीसम्मलाई प्रोत्साहित गर्नुपर्छ भन्ने सर्कुलेसन नै गरियो। कर्मचारीबाट राम्रो काम भएन भने बैंक अगाडि बढ्न सक्दैन भन्ने हेक्का व्यवस्थापनलाई थियो।

मर्जरपछि बैंकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा व्यवस्थापनको ठूलो हात हुन्छ। त्यसमा ग्लोबल आईएमई बैंक सफल भएको बास्कोटाको भनाइ छ।

‘जनतासँगको मर्जरपछि कर्मचारीको संख्या ठूलो छ। तैपनि यहाँका मान्छे छाडेर गएका छैनन्। बाहिरबाट ल्याउनु पर्ने स्थिति पनि छैन,’ बास्कोटा भन्छन्।

मर्जरपछिको सफलता

आईएमई फाइनान्सदेखि जनता बैंकसम्मको मर्जर सकिँदा बैंकको व्यवसाय ह्वात्तै बढ्यो। मर्जरपछि पुँजीमात्र वृद्धि भएन हँुदैन त्यसले व्यवसाय पनि विस्तार गर्नु पर्छ। व्यवसाय वृद्धि नहुँदा त्यसको प्रभाव बजारमा देखिँदैनथ्यो।

ग्लोबल आईएमई बैंक एक्लै हुँदा एउटा परियोजनालाई ३ अर्ब हाराहारीको कर्जा दिन सक्ने क्षमता थियो भने जनतासँग मर्ज भएपछि झन्डै ६ अर्ब जति कर्जा दिन सक्ने अवस्थमा पुगेको बास्कोटा बताउँछन्।

अहिले ग्लोबल आईएमई बैंक ठूला स्तरका एउटै हाइड्रो पावर, सिमेन्ट, उत्पादनमूलक उद्योगमा ४ अर्बभन्दा धेरैको लगानी गर्न सक्ने अवस्थामा पुगेको छ।

मर्जरपछि ग्लोबल आइएमई बैंकले चारपाँच वटा ठूला स्तरका हाइड्रोपावरमा लगानी गरेको छ। बास्कोटाका अनुसार २ अर्बभन्दा धेरै लगानी भएका जलविद्युत आयोजना ४ वटा छन्। सिमेन्ट उद्योगमा पनि लगानी छ। उत्पादनमूलक उद्योगमा पनि लगानी बढेको छ।

मर्जरपछिको अर्को फाइदा भनेको विश्व बैंक, आईएमएफ जस्ता संस्थाहरुले हेर्ने दृष्टिकोण पनि बदलिन्छ।

‘यसको क्यापिटल बढेको छ, बलियो आधार भएको बैंक हो, यससँग कारोबार गर्नुपर्छ भन्ने उनीहरुको बुझाइ हुन्छ,’ उनी भन्छन्।

ग्लोबल आईएमई बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरसन (आईएफसी)सँग सहकार्य गरिरहेको छ।

‘मर्जरको प्रत्यक्ष फाइदा भनेको पुँजी वृद्धि, लगानी गर्ने क्षमता वृद्धि र नेटवर्क वृद्धि हो। त्यही भएर बैंकिङ क्षेत्रको प्रतिस्पर्धामा मुख्य ‘प्लेयर’का रुपमा चिनिएको छ ग्लोबल आईएमई,’ उनी भन्छन्।

मर्जर/प्राप्तिपछि भने व्यवसाय गरिरहेका संस्था पनि गाभिन आउँछन्। गाभिएकै दिनदेखि व्यवसाय विस्तार हुन्छ।

ग्लोबल आईएमईको बिग मर्जको केही समयपछि नै कोरोना संकट सुरु भयो। जसका कारण बैंकले जति रफ्तार लिनुपर्ने हो, त्यो हुन नसकेको बास्कोटाको भनाइ छ।

‘कोरोना संकट नआएको भए मर्जपछि हाम्रो प्रगति अझ धेरै हुने पक्का थियो,’ बास्कोटा भन्छन्।

विदेशमा शाखा खोल्ने तयारी

ग्लोबल आईएमई बैंकले नेपालमा मात्र होइन विदेशमा पनि संजाल विस्तार गरेको छ। यो बैंकका् सम्पर्क कार्यालय अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र भारतमा पनि छ। तर, उनीहरुले व्यवसाय गर्न पाउँदैनन्।

अब भने सम्पर्क कार्यालय रहेका चार ठाउँमा शाखा कार्यालय नै विस्तार गर्ने योजना अगाडि बढेको बास्कोटाले बताए।

‘शाखा सञ्चालन गर्न सम्बन्धित देशबाट स्वीकृति लिनु पर्ने हुन्छ। त्यसमा केही समय लाग्छ,’ उनी भन्छन्।

विदेशमा शाखा खोल्न यता राष्ट्र बैंकबाट पनि स्वीकृति लिनुपर्ने हुन्छ।

‘विदेशमा शाखा विस्तार गर्न राष्ट्र बैंकसमक्ष प्रस्ताव पेस गरिसकेका छौँ,’ बास्कोटाले भने, ‘राष्ट्र बैंक यसमा सकारात्मक रुपमा अगाडि बढेको छ। जापानमा पनि सम्पर्क कार्यालय खोल्ने तयारी छ।’

बिग मर्जर अपरिहार्य
बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा बिग मर्जरको विषयले झन महत्व पाउँदै छ।

पुँजी बढाए पनि व्यवसाय रातारात विस्तार हुन सक्दैन। त्यसको लागि सबैभन्दा सजिलो उपाय बिग मर्जर नै हो। मर्जर विज्ञका रुपमा चिनिने बास्कोटाका अनुसार अब नेपालका ठूला बैंकले राम्रो प्रतिफल लिन र व्यवसाय विस्तार गर्न बिग मर्जरमा नगइ सुख छैन।

‘बैंकहरुको आफ्नै कार्य सम्पादन विस्तार गर्न पनि मर्जरमा जानै पर्ने हुन्छ,’ उनी भन्छन्, ‘अर्कोतिर, विश्व बैंक र आईएमएफले पाँच वर्षपहिले नेपालको बैंक तथा वित्तीय संस्थाको व्यवसायिक सुधारको निम्ति संख्या घटाउन फोर्स मर्जरमै जानु पर्छ भनेको थियो।’

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ आएपछि राम्रो कार्यसम्पादन नभएका, नीति नियम पुरा गर्न नसकेकालाई राष्ट्र बैंकले ‘फोर्स मर्जर’ लैजान सक्छ।

बजारमा टिकिराख्न र आफ्नो पुँजीसँगै व्यवसाय र नेटवर्क विस्तार गर्न मर्जरमा जानुपर्छ भन्ने निष्कर्षमा हरेक बैंक पुगिसकेका छन्।

बिग मर्जरका महत्वपूर्ण ४ पक्ष
बैंक तथा वित्तीय संस्थाको ‘बिग मर्जर’ सजिलो काम होइन।

साना वित्तीय संस्थादेखि ठूलो बैंक मर्ज गर्न सफल भएका ढकालको अनुभवले भन्छ– बिग मर्जरमा जान मुख्यगरी चार पक्षमा सहमति हुन आवश्यक छ।

पहिलो हो– स्वाप रेसियो। यो दुई बैंकको मर्जरमा सबैभन्दा महत्वपूर्ण पक्ष हो। अर्थात् मर्जरपछि दुई पक्षले कति कति सेयर पाउने भन्ने कुरा लगानीकर्ताका लागि मुख्य विषय बन्छ। स्वाप रेसियो मिल्यो भने धेरै बैंक मर्जरमा जान तयार छन्।

दोस्रो, व्यवस्थापनको नेतृत्व। सञ्चालक समितिमा कति जना, कसरी बस्ने, मर्जरपछिको अध्यक्ष को हुने भन्ने विषय। मर्जरको एक वर्षपछि सञ्चालक समितिको निर्वाचन गर्नुपर्छ भनिएको हुन्छ तर एक वर्षको लागि भएपनि बोर्डका अध्यक्ष को हुने भन्ने चासो दुवै पक्षलाई हुन्छ।

तेस्रो, प्रमुख कार्यकारी अधिकृत। सीईओ कसको रहने भन्ने कुरा मिल्न आवश्यक छ। दुवै बैंकले आफ्नो सीईओ राख्न चाहन्छन् तर दुवै सीईओ राख्न सकिँदैन।

चौथो हो– बैंकको नाम। मर्जपछि बैंकको नाम के हुने भन्ने विषयमा बिग मर्जरमा विशेष चासो हुन्छ। जस्तो कि ग्लोबल बैंक र आईएमई फाइनान्स मर्ज हुँदा दुवैको नाम मिलाएर ग्लोबल आईएमई बैंक राखिएको थियो।

आईएमई फाइनान्ससँग मर्ज हुँदा त्यही नाम नै किन राख्ने भनेर १५ दिन छलफल भएको बास्कोटा बताउँछन्। जनतासँग पनि मर्ज हुँदा पनि जनता कहीँ न कहीँ राख्ने भन्ने छलफल भएको थियो। तर, जनता भन्ने शब्द राख्दा नाम नै नमिल्दो हुने भएपछि त्यसमा जनताले सम्झौता गरेको थियो।