नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
Sunday Jul 12, 2026
वि.सं.२०८३ असार २८ आइतवार २०:१९
काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सुदृढ बनाउने तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित बैंकिङ सेवाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै आगामी यात्रामा पनि नवप्रवर्तन र प्रविधिमार्फत उत्कृष्ट सेवा प्रदान गरिने बताए।
उनले नबिल बैंकले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको सुरुआत गरेको स्मरण गर्दै अहिले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट तथा डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम उपलब्ध गराइरहेको बताए।
अध्यक्ष चौधरीले बैंक अब एआईको युगमा प्रवेश गरेको उल्लेख गर्दै ‘एनबैंक’ एपको आगामी विकासमा एआईलाई केन्द्रमा राखिने जानकारी दिए। उनका अनुसार एआईको प्रयोगबाट ग्राहकलाई थप व्यक्तिगत, छिटो र सुरक्षित बैंकिङ सेवा, प्रभावकारी जोखिम व्यवस्थापन तथा वित्तीय समावेशीकरणमा टेवा पुग्नेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा स्थापना भएको नबिल बैंक आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको योगदानका कारण नेपालको अग्रणी बैंकका रूपमा स्थापित भएको बताए। उनले बैंक केवल वित्तीय सेवा प्रदायक संस्था नभई ग्राहकको सपना र सफलताको यात्रामा साझेदार बनेर अघि बढिरहेको उल्लेख गरे।
बैंकका अनुसार हाल कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरिएको छ।
वित्तीय सूचकांकमा पनि बैंकले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। यस अवधिमा निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ, कर्जा ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ तथा कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म विशेष ग्राहक–केन्द्रित योजना सञ्चालन गर्ने घोषणा गरेको छ। यसअन्तर्गत हेटौँडा र वीरगञ्जका सडक विस्तारबाट प्रभावितका लागि सहुलियतपूर्ण पुनःनिर्माण घर कर्जा, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) सेवाको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट तथा क्रेडिट र डेबिट कार्डमा विशेष छुटका योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ।
नबिल बैंकले आगामी दिनमा प्रविधिमैत्री, समावेशी र दिगो बैंकिङमार्फत नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता दोहोराएको छ।
























