देशभरका ५२ हजार ५६ इसिडी शिक्षकको साउन देखि तलब बढ्ने,यसरी भएछ निर्णय
Sunday May 02, 2021
वि.सं.२०७८ वैशाख १९ आइतवार १८:५६

काठमाडौं ।५२ हजार शिक्षकको तलब साउनबाट बढ्ने भएको छ । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ईसीडी र पीपीई कक्षामा पढाउने शिक्षकको संख्या ५२ हजार ५६ छ।
तीमध्ये ४६ हजार २८६ महिला छन्। ईसीडी र पीपीई कक्षामा अध्यापन गराउनेमध्ये ४।३ प्रतिशत शिक्षक एसएलसी उत्तीर्ण छैनन्। केही विद्यालयले स्थानीय स्रोतबाट जुटाएर थप सेवासुविधा दिए पनि अधिकांश शिक्षक सरकारले दिएको तलबमै काम गर्न बाध्य छन्। सरकारले ईसीडी शिक्षकलाई प्राविसरह तलब सेवासुविधा दिन गृहकार्य थालेको लामो समय भइसक्यो। तर अब भने त्यसलाई मुर्त रुप दिने गरि तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
ईसीडी सामुदायिक विद्यालयमा एक कक्षा भन्दामुनिका बालबालिकालाई अध्यापन गराउने कक्षा हो जहाँ अभिभावक र विद्यार्थीको चाहनाअनुसार सिकाइन्छ। शिक्षा मानवस्रोत विकास केन्द्रले तयार पारेको पछिल्लो फ्ल्यास रिपोर्टमा देशभर ३६ हजार ४५० बालविकास केन्द्र ुईसीडीु र पूर्वप्राथमिक शिक्षाका कक्षा छन्।
तीमध्ये ३० हजार ४४८ बालविकास केन्द्र छन् भने ६ हजार ४११ पूर्वप्राथमिक कक्षा विद्यालयमा सञ्चालनमा छन्। गत वर्ष समुदायमा रहेका ५८ ईसीडी केन्द्र बन्द भए। देशभर विद्यालयको संख्या ३५ हजार ५२० छ। तर सबै विद्यालयले ईसीडी कक्षा सञ्चालन गरेका छैनन्।
विद्यालय र समुदायमा सञ्चालित ईसीडी र पूर्व प्राथमिक तहमा ११ लाख पाँच हजार ५६१ बालबालिका अध्ययनरत छन्। शिक्षा मन्त्रालयका अधिकारी पनि ईसीडी शिक्षकका तलब बढाउन अर्थ मन्त्रालय सहमत भएको बताउँछन्। आगामी साउन बाट प्राबि शिक्षक सरहको तलब दिने ब्यबस्था हुने भएको छ।


























