नयाँ आर्थिक बर्ष लागेसंगै बैंकहरु शाखा बिस्तारमा आक्रामक ढंगले लागे,ग्लोबलले खोल्यो एकै दिन सात नयाँ शाखा
Wednesday Aug 04, 2021
वि.सं.२०७८ साउन २० बुधवार १९:२६

काठमाडौँ । कोभिड सक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनका कारण गत बर्ष बैंकहरुले सञ्जाल बिस्तारमा खासै ध्यान दिएका थिएनन्। अनिश्चयमा खर्च बढाउन बैंकहरुले चाहेनन्। तर नयाँ आर्थिक बर्ष लागेपछि बैंकहरुले शाखा बिस्तारलाई प्राथमिकतामा राखेका छन्।
बैंकहरुले शाखा बिस्तारका लागि आवश्यक ठाउँको छनौट गरी भाडामा लिने प्रकृया सुरु गरिसकेका छन् भने कतिपयले ठाउँ खोजिरहेका छन्।
पछिल्ला दिन नबिल, एनएमबि, नेपाल एसबीआइ, प्रभु, सेञ्चुरी कमर्सियल, मेगालगायतका बैंकले सञ्चाल बिस्तारमा ध्यान दिन थालेका छन्। सानिमा, सिद्धार्थ, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सिटिजन्स, एभरेष्टलगायतका बैंकले पनि शाखा सञ्जाल बिस्तारमा ध्यान दिन थालेका छन्।
शाखा बिस्तारसँगै केही बैंकले कर्मचारीको जोहो गर्न थालेका छन्। केही समयअघि नबिलले उच्च संख्यामा कर्मचारी माग गरेको थियो। केही दिनअघि एनएमबि बैकले कर्मचारी माग गरेको थियो। अहिले सेञ्चुरी, प्रभुलगायतका बैंकहरुले कर्मचारी माग गर्न थालेका छन्।
‘सञ्जाल बिस्तारको फाइदा ब्यापार बढाउन र निक्षेप संकलन गर्न हुन्छ। यो कुरा हाम्रो बोर्डले भर्खर बुझेर शाखा संख्या थप्ने योजना भर्खरै मात्र पारित गरेको छ’ एक बैंकरले भने, ‘अब हामी कर्मचारी मागेर ट्रेन गर्न थाल्छौं। सँगसँगै शाखा बिस्तारका लागि ठाउँहरु पनि छनौंट गर्न थाल्छौं।’
सरकारले एक स्थानीय तह एक बैंक शाखा नीति लिएपछि बैंकहरुले औषतमा १७/१८ वटाका दरले शाखा खोलेका थिए। त्यसपछि आवश्यकता अनुसार बैंकहरुले खोलिरहेका थिए। बीचमा लकडाउन भएपछि रोकिएजस्तै भएको थियो। अब भने फेरि शाखा बिस्तारको काम अगाडि बढाएका हुन्।
चैतसम्मको तथ्यांक अनुसार बाणिज्य बैंकहरुको कुल शाखा ४ हजार १२९ छ। सबैभन्दा धेरै कृषि विकास बैंकको २७६ छ भने कम स्ट्यान्डर्ड चार्टर्डको १२ वटा छ।
ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ। खोलिएका शाखामध्ये ६ वटा काठमाडौं उपत्यकामा छन्।
बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर र धादिङको धादिङबेसीस्थित बिचबजारमा शाखा खोलेको हो।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै शाख संख्या २८० पुगेको छ। बैंकका देशका ७६ जिल्लामै फैलिएको छ। बैंकका देशभर २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय छन्।
























