३९ स्थानमा सहुलियत पसल संचालन, १० रुपैयाँसम्म प्रतिकिलो छुट

वि.सं.२०७८ भदौ २४ बिहीवार १०:४७

सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि देशभरका विभिन्न ३९ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले खाद्य कम्पनी, ट्रेडिङ र दुग्ध विकास संस्थानको सहकार्यमा देशका ३९ स्थानहरुबाट सहुलियत पसल सञ्चालन गरिने जानकारी दिइन् ।
उक्त पसलहरु असोज १ देखि कार्तिक २४ गतेसम्म संचालन उने उनले बताइन् । सहुलियत पसलमा खाद्य वस्तुमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइने उनले जानकारी दिइन् ।
खाद्यले उपत्यका भित्र ४ स्थानबाट सहुलियत पसल सञ्चालन गरिने उनले बताइन । रामशाह पथ, थापाथली, नख्खु र सूर्यविनायकबाट सहुलियत पसल सञ्चालन गरिने भएको हो । गत वर्ष उपत्यका भित्र मात्र १३ स्थानबाट सहुलियत पसल सञ्चालन गरिएको थियो ।
दशैंमा अनलाइनबाट पनि खाद्य वस्तु किन्न सकिने छ भने अनलाइनबाट किन्नेले भने सहुलियतको छुट पाउने छैनन् । मोटो तथा मसिनो चामलमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । सिमि÷फापरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिने छ । नुनमा २ रुपैयाँ छुटको व्यवस्था छ । चिनीमा ५ रुपैयाँ छुटको व्यवस्था छ । खसी बोकामा प्रतिकेजीमा १० रुपैयाँ छुट गरिने भएको छ ।
दुग्ध विकास संस्थानबाट विक्री वितरण हुने दुध, पनीर, ध्यू लगायतका वस्तुमा उक्त संस्थानले तोके अनुसार छुटको व्यवस्था गरिने छ ।
‘हामीले साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग सहकार्यगरी सहुलियत पसल सञ्चालन गर्न लागेका छौँ, २ रुपैयाँ देखि १० रुपैयाँसम्मको छुटको व्यवस्गा गरेका छौँ, अनलाईनमा किन्ने चाहि छुट पाउदैनन्,’सुवेदीले चाणक्य पोष्टसँग भनिन् ।
खाद्य कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानबाट सञ्चालन हुने सहुलियतमूल्यका पसलहरुमा बजार मूल्यभन्दा ५ देखि १० प्रतिशत सहुलियतमा खाद्य वस्तु विक्री वितरण गरिने उनले बताए ।
सरकारले प्रत्येक वर्ष निजी क्षेत्रलाई समेत समेटेर दशैं तिहार लक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने गरेको छ । सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।