ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढायो

वि.सं.२०७९ वैशाख २५ आइतवार ०९:५४

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढाएको छ । इन्स्योरेन्सले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २० करोड ६५ लाख ९ हजार खुद मुनाफा कमाएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ७०.०२ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १२ करोड ७ लाख ७१ हजार खुद मुनाफा कमाएको थियो । इन्स्योरेन्सले जीवन बीमा कोष, खुद बीमा शुल्कमा संकलमा सुधार गर्दा नाफा बढाउन सफल भएको हो । समीक्षा अवधिमा ज्योतिको खुद बीमा शुल्क संकलन २८ करोड बढेर २ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २१ करोड बीमा शुल्क संकलन गरेको थियो ।
यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्स लगानी, कर्जा तथा अन्य आयबाट ३३ करोड ३ लाख आम्दानी गरेको छ भने बीमा धितोलेख कर्जा लगानीबाट २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ६८ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ११.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैयाँ रहेको छ ।