बैंकबाट ऋण लिंदै हुनुहुन्छ ? कुन बैंकबाट ऋण लिँदा पर्छ सस्तो ?

वि.सं.२०७९ माघ १४ शनिवार १०:२३

काठमाडौं । बैंकको ब्याजदर महंगिएको छ । बैंकहरूले तरलता अभावका कारण निक्षेपको ब्याजदर बढाउँदा लागत वृद्धि भएर आधारदर नै दोहोरो अंकमा पुगेको हो । पछिल्लो एक वर्षमा वाणिज्य बैंकको आधारदर (बेसरेट)झन्डै तीन प्रतिशतले बढेको सार्वजनिक वित्तीय विवरणहरूले देखाउँछ ।
निक्षेपको ब्याजदर वृद्धिले बैंकको लागत बढाएर आधारदर उकालो लागेको छ भने त्यसको असर कर्जाको ब्याजदरमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास(साउन–पुस) मसान्त सम्म वित्तीय विवरण सार्वजनिक गरेका २१ बैंकहरूको औसतमा आधारदर १०.७८ प्रतिशत पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो आधारदर ८.१२ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिने ऋणको ब्याजदर सोही आधादरले तय गर्छ । जसमा संस्थाहरूले ६ प्रतिशतसम्म प्रिमियम लिएर ऋण दिन्छन् । यसको आधारमा हाल बैंकको आधारदरमा प्रिमियम जोड्दा १८ प्रतिशतसम्म कर्जाको ब्याजदर पुग्छ ।
बैंकहरूले अहिले कर्जाको ब्याजदर १८ प्रतिशत बढी लिइरहेका छन् । निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म दिएपछि कर्जाको ब्याजदर थप महंगिएको हो । चालु वर्षको पहिलो र दोस्रो त्रैमासमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले तेस्रो त्रैमासको माघदेखि घटाएका थिए ।
निक्षेपको ब्याजदर तत्काल घटे पनि कर्जाको ब्याजदर भने वैशाखपछि मात्र घट्छ । बैंक तथा वित्तीय संस्थाहरूले तीन महिनाको लागतको आधारमा औसतमा बेसरेट निकाल्छन् । सोही आधारमा ब्याजदरमा कर्जाको ब्याजदरमा फेर बदल आउँछ ।
वित्तीय प्रणालीमा तरलता अभावका कारण गत आवको दोस्रो त्रैमासदेखि संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् । निक्षेप बढाउन ब्याजदर मात्र वृद्धि गर्दा बैंकको लागत र कर्जा मात्र महंगिएको छ । अहिले भने तरलता भएपनि कर्जाको माग बढेको छैन । जसको कारण ब्याजदर घटाउनेमा बैंकको ध्यान गएको छ । चालु आवको पहिलो त्रैमासमा २.८३ प्रतिशतले बढेर औसतमा १०.२३ प्रतिशत पुगेका थियो ।
कुन बैंकबाट ऋण लिँदा सस्तो ?
जुन बैंकको आधारदर कम छ त्यो बैंक तथा वित्तीय संस्थाले सस्तोमा कर्जा प्रवाह गर्छ भने जसको धरै छ त्यस्तो संस्थाले ब्याजदर महंगो लिने गरेको पाइन्छ । यद्यपि, ऋणको प्रकृति हेरेर आधारदरमा कति प्रिमियम थप्ने भन्ने कुराले पनि ब्याजदर सस्तो र महंगो तय गर्छ ।
चालु आवको दोसे त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको बेसरेट न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म पुगेको तथ्यांकले देखाउँछ ।
जसमा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ९.६७ प्रतिशत छ । यस बैंकबाट कर्जा लिँदा ग्रहाकहरूले सबैभन्दा कम ब्याजदरमा ऋण पाउने देखिन्छ ।
यसैगरी, नेपाल, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र एभेरेष्ट बैंकको ब्याजदर ९ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सिद्धार्थ, नबिल, एसबीआई, सानीमा, ग्लोबल आइएमई बैंकको आधारदर १० प्रतिशत भन्दा बढी छ ।
सबैभन्दा धेरै आधारदर सिभिल बैंकको ११.७३ प्रतिशत रहेको छ । सनराइज बैंकको ११.६२ सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी बैंकको आधारदर ११.३७ रहेको छ ।
यसैगरी, प्राइम कमर्सियल, प्रभु, एनआइसी एसिया र कृषि विकास बैंकको आधादर नै ११ प्रतिशतभन्दा माथि छ । यी बैंकहरूको आधारदर एक वर्षमा ३ देखि ४ प्रतिशतसम्म बढेको छ ।