‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल
Monday Jul 13, 2026
वि.सं.२०८३ असार २९ सोमवार ११:५२
काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१० फुटबल एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलले हुन्डाई नेपालको तल्लो तहदेखि फुटबलको विकास गर्दै नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनिका खेलाडीहरूको एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। विश्वकप फुटबल–२०२६ ले विश्वभर फुटबलप्रति उत्साह बढाइरहेको सन्दर्भमा हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भावी प्रतिभाको पहिचान र विकासलाई प्राथमिकता दिएको हो।
विश्वकप फुटबल–२०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी अवधारणा ‘भोलिको सुरुआत आजै’ अनुरूप नेपालमा पनि तल्लो तहदेखि फुटबलको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा क्रेटा इलेक्ट्रिक, भेन्यु, आयोनिक–५, एक्स्टर, कोना, क्रेटा, ग्रान्ड आई–१० निओस तथा प्यालिसेडका नाममा रहेका आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि भेन्यु टोली विजेता बन्दा क्रेटा इलेक्ट्रिक टोली उपविजेतामा सीमित रह्यो।
यस प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने, नयाँ अनुभव हासिल गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पण अझ सुदृढ बनाउने अवसर प्रदान गरेको छ। साथै, एजी–१० फुटबल एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको तल्लो तहको विकासमा दीर्घकालीन योगदान पुर्याउने साझा उद्देश्यलाई थप मजबुत बनाएको छ।
यस अवसरमा एजी–१० फुटबल एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले भन्नुभयो, “नेपालमा प्रतिभाको कहिल्यै अभाव थिएन, अभाव त अवसरको थियो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई साकार पार्ने आत्मविश्वास पनि प्रदान गर्छन्। हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्य अझ उज्ज्वल बन्ने विश्वास लिएको छु।”
‘हुन्डाई नेक्स्ट जेन कप’ युवा प्रतिभाको विकास, समुदायसँगको सहकार्य तथा तल्लो तहदेखि खेलकुदको प्रवर्द्धनमार्फत समाजमा अर्थपूर्ण योगदान पुर्याउने हुन्डाई नेपालको दीर्घकालीन सोचको प्रतिबिम्ब हो।
यस प्रतियोगिताको सफल समापनसँगै हुन्डाई नेपालले तल्लो तहदेखि फुटबलको विकास गर्दै भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
























