नेपालमै उत्पादित सवारी साधन दर्ताको बाटो खुल्यो
Thursday Apr 27, 2023
वि.सं.२०८० वैशाख १४ बिहीवार १९:३८
काठमाडौं । अब नेपालमै बनेका सवारी दर्ता गर्न सकिने भएको छ ।
यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरी अब नेपालमै बनेका सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।
यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ ।
संशोधन कार्यविधिको बुँदा १ मा ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’, भन्ने उल्ले छ ।
दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्यअभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
























