नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९ प्रतिशतले बढ्यो
Saturday May 13, 2023
वि.सं.२०८० वैशाख ३० शनिवार १२:१४
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३२९ दशमलव ५२ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले सो प्रगति हासिल गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९ दशमलव ५२ प्रतिशतको वृद्धि देखिएको छ ।
तेस्रो त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा करिब १३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९ दशमलव ८३ प्रतिशतले बढी करिब १५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । महाबिपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५ दशमलव ४९ प्रतिशतले बढी हो ।
कम्पनीको लगानी २० दशमलव ०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिब १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ दशमलव १९ प्रतिशतले घटेर ८४ करोड रुपैयाँ रहेको छ ।
यसैगरी चैत मसान्त सम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११ दशमलव ४४ प्रतिशतले बढेको छ ।
यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण हो भन्ने कुरा कम्पनीले जनाएको छ ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ दशमलव २५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ दशमलव ०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३ दशमलव १९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रुपैयाँ र औसत प्रतिफल दर १० दशमलव ८४ प्रतिशत रहेको छ ।




























