उत्पादन र रोजगारीमा नेपालको निजी क्षेत्रले ८० प्रतिशतभन्दा बढीको योगदान
Thursday May 18, 2023
वि.सं.२०८० जेठ ४ बिहीवार २३:१४
काठमाडौं । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ठूलो रहेको तथा महत्वपूर्ण रहेको विषय बेला बखत उद्योगी व्यवसायीसँगै नीति निर्माता र सरकारबाट सुनिन्छ । तर, त्यो हिस्सा कति हो त ? यसको यथेष्ट जवाफ न निजी क्षेत्रसँग थियो नत सरकारसँग नै । तर, अब यसको यथेष्ट जवाफ सबैको मुखबाट सुनिनेछ ८१.५५ प्रतिशत । यो जवाफको श्रेय नेपाल उद्योग वाणिज्य महासंघले पाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को सहकार्यमा महासंघले पहिलो पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालमा मात्रै होइन, यस्तो प्रतिवदेन अन्तर्राष्ट्रिय वित्त निगमका सदस्य मुलुकहरुमा पनि हालसम्म तयार भएको छैन । त्यसैले पनि नेपाल उद्योग वाणिज्य महासंघको यो कार्यको धेरैले प्रशंसा पनि गरिरहेका छन् ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो प्रतिवेदन महासंघ र आइएफसीका लागि गर्वको विषय भएको बताए ।
‘२०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक भएको छ, उद्योग प्रतिष्ठानको संख्या यस अवधिमा २८ हजारबाट ९ लाख नाघेको छ, अर्थतन्त्रको यो तीव्र विस्तारको मुख्य आधार निजी क्षेत्र थियो, अब हामीले दिगो संरचनात्मक सुधार कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता छ, जसले वृद्धिका बाधक पहिल्याएर निजी क्षेत्रको नेतृत्वमा सामाजिक न्यायसहितको दिगो आर्थिक विकास सम्भव बनाउनेछ,’ कार्यक्रममा अध्यक्ष ढकालले भने ।
अध्ययनले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको देखाएको छ । उनले दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए ।























