राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा
Thursday Aug 20, 2026
वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१
काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले अत्याधुनिक सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।
कम्पनीले भक्तपुरको मनोहरास्थित राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्क औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। बुधबार आयोजित एक कार्यक्रमबीच शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले संयुक्त रूपमा उक्त सेवा केन्द्र तथा चार्जिङ नेटवर्कको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बोल्दै शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले नेपालमा ईभीको प्रयोग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै कम्पनीले गुणस्तरीय विद्युतीय सवारीसाधन उपलब्ध गराउनुका साथै स्पेयर पार्ट्स र बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा पनि विशेष ध्यान दिइरहेको बताए।
राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले सवारीसाधन बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नु कम्पनीको प्रमुख जिम्मेवारी रहेको बताए। आवश्यक स्पेयर पार्ट्सको सहज उपलब्धता र भरपर्दो चार्जिङ पूर्वाधार विकासप्रति कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ थियो।
त्यस्तै, कम्पनीका सीईओ मनोज खतिवडाले ईभीको बिक्रीसँगै पर्याप्त र भरपर्दो चार्जिङ नेटवर्क विस्तार अपरिहार्य रहेको बताए। सोहीअनुसार कम्पनीले देशभर सर्भिस तथा चार्जिङ नेटवर्क विस्तारको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उनले जानकारी दिए।
कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग, गट्ठाघरका प्रहरी नायब निरीक्षक बिक्रम बिकले सवारी चलाउँदा अपनाउनुपर्ने आवश्यक सावधानीबारे जानकारीमूलक प्रस्तुतीकरण दिएका थिए। आधुनिक ईभीमा धेरै प्रविधिको प्रयोग हुने भएकाले चालक तथा प्रयोगकर्ताले थप सचेत हुनुपर्ने उनले बताए।
एकै स्थानमा सर्भिसिङदेखि चार्जिङसम्म
नयाँ सञ्चालनमा आएको सर्भिस सेन्टरमा एकै स्थानबाट विद्युतीय सवारीसाधनको सर्भिसिङ, चार्जिङ र वासिङलगायतका विभिन्न सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। सेन्टरमा एकैपटक १२ वटा सवारीसाधन चार्ज गर्न सकिने व्यवस्था गरिएको छ।
प्रशस्त पार्किङ, ग्राहकका लागि आरामदायी बस्ने व्यवस्था तथा क्याफेको सुविधा पनि उपलब्ध छ। ग्राहकले वर्कशपमा भइरहेको सर्भिसिङ गतिविधि लाइभ हेर्न सक्ने व्यवस्था समेत गरिएको छ।
सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा इलेक्ट्रिकल पार्ट्सलगायतका सामग्री स्टकमा राखिएको कम्पनीले जनाएको छ। सामान्य पार्ट्स नेपालभर जुनसुकै स्थानमा ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था मिलाइएको बताइएको छ।
काठमाडौंमा ४८० किलोवाटको चार्जिङ स्टेशन
कम्पनीले हाल काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध तीव्र गतिमा चार्ज गर्न सकिने चार्जिङ स्टेशनमध्ये एक हो।
यसअघि नवलपरासीको गैँडाकोटमा कम्पनीले ६४० किलोवाट क्षमताको चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ। यही वर्षभित्र पूर्वदेखि पश्चिमसम्मका मुख्य सहरमा चार्जिङ स्टेशन विस्तार गर्ने तथा प्रत्येक आवश्यक सुविधासहित ४ मेगावाट क्षमतासम्मका चार्जिङ स्टेशन विस्तार गर्ने कम्पनीको योजना छ। ती स्टेशनलाई ‘वान स्टप सोलुसन’का रूपमा विकास गरिने बताइएको छ।
आरजेडएमका दुई ईभी भ्यान बजारमा
राठी ट्रेडिङले शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ई५ र आर५ गरी दुई मोडलका ईभी भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ।
आरजेडएम ई५ मा ५३।५ किलोवाट आवर क्षमताको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको फुल चार्जमा करिब ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
त्यसैगरी, आर५ मा ७७।२८ किलोवाट आवर र ८६।५५ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध छन्। यी ब्याट्रीले क्रमशः ३३० र ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ। ६० किलोवाट क्षमताको चार्जर प्रयोग गर्दा करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
१८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको आरजेडएमका ईभी भ्यानमा बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, पावरफुल एसी, ६४ इन्चको इन्टरनल हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल तथा अन्डरबडी प्रोटेक्सनलगायतका फिचर रहेका छन्।
नेपाली सडकमा परीक्षण गरी स्थानीय आवश्यकता र सडक अवस्थाअनुसार सुधार गरिएको कारण आरजेडएमका सवारीसाधन ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीको दाबी छ।
कम्पनीले ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटरसम्म तथा मोटर र अन्य प्रमुख पार्ट्समा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ।
























