३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२
Thursday Aug 20, 2026
वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०
काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू मोटर्सले बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा एक कार्यक्रम आयोजना गर्दै उक्त एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले नामी भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथिल्लो श्रेणीमा राख्दै पारिवारिक प्रयोगका लागि उपयुक्त ‘फुल एसयूभी’का रूपमा नेपाली बजारमा ल्याइएको बताए।
कम्पनीले नामी भिगो ई–२ को प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। उक्त विशेष मूल्यमा आगामी भदौ ९ गतेदेखि आयोजना हुने नाडा अटो शोसम्म गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा अग्रवालले सरकारले नयाँ बजेटमार्फत ड्युटी संरचनामा गरेको हेरफेरबाट प्राप्त लाभ ग्राहकसम्म पुर्याउने उद्देश्यले गाडीको विशेष मूल्य निर्धारण गरिएको बताए।
“ड्युटी हेरफेरबाट आएको भिन्नतालाई कम्पनीको नाफामा राख्ने कि ग्राहकलाई हस्तान्तरण गर्ने भन्ने विषयमा हाम्रो टोलीबीच छलफल भएको थियो,” उनले भने, “हाम्रा मूल्य मान्यताअनुसार हामीले सधैँ ग्राहकलाई प्राथमिकता दिएका छौँ। त्यसैले विशेष मूल्यमा यो गाडी बजारमा ल्याएका हौँ।”
कम्पनीका अनुसार नामी भिगो ई–२ ले नेपाली बजारमा किफायती मूल्यमा पारिवारिक विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गर्नेछ। नयाँ मोडल सार्वजनिकसँगै डोङफेङ नामीले नेपाली ईभी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
























