५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
Wednesday Aug 19, 2026
वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६
काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ। यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको छ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ।
तर यसपटक नाडाले अटो शोको परिचय गाडी प्रदर्शनमा मात्र सीमित गर्न खोजेको छैन। रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ। नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार ५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्नेछ।
‘अब अटो शो गाडी हेर्ने ठाउँ मात्र रहेन’
मल्लका अनुसार अटोमोबाइल क्षेत्र अहिले तीव्र परिवर्तनको चरणमा छ। पेट्रोल–डिजेलबाट विद्युतीय सवारीतर्फको परिवर्तनसँगै सवारीसाधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढिरहेको छ।
“अहिले अटोमोबाइल भनेको गाडी मात्र होइन। यो प्रविधि, मोबिलिटी, रोजगारी, वित्तीय सेवा र उद्योगसँग जोडिएको ठूलो इकोसिस्टम हो। त्यसैले अटो शोमा पनि त्यही परिवर्तन देखिनुपर्छ भन्ने हाम्रो सोच हो,” मल्ल भन्छन्।
यही सोचअनुसार यसपटक दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिको प्रयोगमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइँदैछ।
मल्लका अनुसार प्रविधिलाई प्रदर्शनको आकर्षणका रूपमा मात्र नभई दर्शकको अनुभव सहज बनाउने माध्यमका रूपमा प्रयोग गर्न खोजिएको हो। “हामीले दर्शकलाई गाडी देखाएर मात्र पठाउन चाहेका छैनौँ। उसले गाडीबारे बुझोस्, तुलना गरोस् र प्रविधिले भविष्यमा हाम्रो मोबिलिटीलाई कहाँ लैजाँदैछ भन्ने अनुभव गरोस् भन्ने हो,” उनी भन्छन्।
‘मेड इन नेपाल’ लाई छुट्टै पहिचान
यस वर्षको अटो शोको अर्को महत्त्वपूर्ण पक्ष ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन हो। अटो शोको इतिहासमै पहिलोपटक छुट्टै प्याभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिँदैछ।
नेपालमै बनेका मोटरसाइकल, स्वदेशमा एसेम्बल भएका स्कुटर तथा बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्सलाई पनि यहाँ राखिनेछ।मल्लका लागि यो केवल एउटा प्याभिलियन होइन, नेपाली उद्योगबारे धारणा बदल्ने प्रयास हो।
“नेपालमा उत्पादन सम्भव छैन भन्ने सोचलाई हामीले विस्तारै बदल्नुपर्छ। स्वदेशमा उद्योग बस्यो भने त्यसले रोजगारी सिर्जना गर्छ, सीप विकास गर्छ र अर्थतन्त्रमा मूल्य थप्छ। त्यसैले ‘मेड इन नेपाल’लाई अटो शोमा छुट्टै स्थान दिनु हाम्रो प्राथमिकता हो,” उनी भन्छन्।
अटो शोको मूल नारा पनि ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ। नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ। प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारीसँग यो क्षेत्र जोडिएको नाडाको दाबी छ।
मल्लको भनाइमा यही तथ्यले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधन आयात–बिक्रीको व्यवसायका रूपमा बुझ्न नहुने देखाउँछ।
“अटोमोबाइल क्षेत्रसँग जोडिएको रोजगारी र राजस्वलाई हेर्दा यो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो। त्यसैले उद्योगलाई दीर्घकालीन रूपमा बलियो बनाउन नीति, लगानी, पूर्वाधार र प्रविधि सबै पक्षमा सँगसँगै काम गर्नुपर्छ,” उनी भन्छन्।
ईभीसँगै नीतिगत बहस
यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति उल्लेख्य रहनेछ। विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीका विषयमा सिम्पोजियम पनि आयोजना हुनेछ।
मल्लका अनुसार ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता पनि बढेको छ। “ईभी बिक्री बढ्नु मात्रै पर्याप्त हुँदैन। त्यससँगै चार्जिङ पूर्वाधार, दक्ष जनशक्ति, सर्भिस र नीतिगत स्थिरता पनि चाहिन्छ। अबको बहस यही समग्र प्रणाली कसरी बलियो बनाउने भन्नेमा हुनुपर्छ,” उनी भन्छन्।
दर्शकका लागि सहज व्यवस्थापन
६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क तथा अन्य स्थानमा पार्किङको व्यवस्था गरिनेछ। बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ।
प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क पनि रहनेछन्। आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
नाडाको ५०औँ वर्षमा आयोजना हुन लागेको १८औँ अटो शोका बारेमा मल्लको अन्तिम सन्देश भने बजारभन्दा फराकिलो छ।
“हाम्रो लक्ष्य एउटा सफल अटो शो गर्नु मात्र होइन। ५० वर्षमा नाडाले जहाँसम्म यात्रा गरेको छ, त्यसबाट अब नेपाली अटोमोबाइल उद्योगलाई कहाँ लैजाने भन्ने बहस पनि सुरु गर्नुपर्छ। उद्योग बलियो भयो भने व्यवसायसँगै रोजगारी र अर्थतन्त्र पनि बलियो हुन्छ,” उनी भन्छन्।
भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोमा त्यसैले नयाँ गाडी मात्रै देखिने छैनन्। नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको एउटा चित्र पनि देखिनेछ।
























