एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ
Thursday Aug 20, 2026
वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै अनलाइनबाटै कर्जा आवेदन दिन र आवेदनको स्थिति रियल–टाइममा ट्र्याक गर्न सकिने नयाँ प्रणाली सञ्चालनमा ल्याएको छ।
बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रामा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा ‘अनलाइन लोन एप्लिकेसन’ तथा ट्र्याकिङ प्रणाली सुरु गरेको जनाएको छ। यससँगै ग्राहकले बैंक धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबिना जुनसुकै स्थानबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकले आफूलाई आवश्यक कर्जा छनोट गरी अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन बुझाएपछि प्राप्त हुने अनलाइन लोन ट्र्याकिङ आईडीमार्फत आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी सोझै हेर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
यस प्रणालीले कर्जा प्रक्रियालाई थप सरल, छिटो र पारदर्शी बनाउनुका साथै कर्जा स्वीकृतिमा लाग्ने समयसमेत घटाउने बैंकको विश्वास छ। साथै, कागजरहित बैंकिङ सेवाको प्रवर्द्धन गर्दै वातावरणमैत्री र दिगो बैंकिङ अभ्यासलाई सहयोग पुग्ने बताइएको छ।
अनलाइन कर्जा आवेदनका लागि ग्राहकले एनएमबि बैंकको वेबसाइटमा लगइन गरी ‘Loan Services’ मा जानुपर्नेछ। त्यसपछि ‘Explore Products’ मा क्लिक गरी आफूलाई आवश्यक कर्जाको प्रकार छनोट गरेर आवश्यक विवरण भर्न सकिनेछ।
फारम बुझाएलगत्तै ग्राहकले ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। सोही आईडी प्रयोग गरी कर्जा आवेदनको पछिल्लो अवस्था अनलाइनबाटै रियल–टाइममा हेर्न सकिनेछ।
नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा विस्तार गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको बैंकले जनाएको छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गर्दै ग्राहकको समय बचत गर्ने र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने दिशामा बैंक प्रतिबद्ध रहेको जनाएको छ।
एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।























