इप्पान निर्वाचनमा मनोनयन दर्ता गरेका ६ जना बिरुद्ध ९ जनाको दाबी बिरोध
Tuesday Jun 13, 2023
वि.सं.२०८० जेठ ३० मंगलवार २२:२३
काठमाडौं । बिधान र निर्वाचन निर्देशिकाको विषयलाई लिएर विवाद चुलिएको इप्पान निर्वाचनमा ६ जना उम्मेदवारहरुका बिरुद्ध दाबी बिरोध दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साढे ३ बजेदेखि साढे ४ बजेसम्म दाबी बिरोध दर्ता गर्ने कार्यतालिका थियो ।
उक्त अवधिमा विभिन्न ६ पदमा मनोनयन दर्ता गरेका उम्मेदवारका विरुद्ध ९ जनाको दाबी बिरोध दर्ता भएको निर्वाचन समितिले जनाएको छ । समितिका प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवि खतिवडाले ६ जना उम्मेदवारका विरुद्ध ९ जनाले दाबी बिरोध दर्ता गरेको जानकारी दिए । सबै दाबी बिरोध उपर निर्वाचन समितिले आवश्यक छानबिन गरि बुधबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने नोटबजारलाई बताए ।
अध्यक्षका प्रत्यासी किरण मल्लका बिरुद्ध अध्यक्षका अर्का प्रत्यासी गणेश कार्कीले दाबी बिरोध दर्ता गरेका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षका उम्मेदवार सूर्य प्रसाद अधिकारीका बिरुद्ध वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी मोहन कुमार डाँगीले दाबी बिरोध दर्ता गरेका हुन् ।
उपाध्यक्षका प्रत्यासीहरु विरेन्द्र मल्ल र दिपेन्द्र बहादुर बमका बिरुद्ध उपाध्यक्षका प्रत्यासीहरु भरत बहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, लगायतका उपाध्यक्षका प्रत्यासीहरुले दाबी बिरोध दर्ता गराएका हुन् ।
त्यसैगरी महासचिवका प्रत्यासी विनोद देवकोटा बिरुद्ध महासचिवका अर्का प्रत्यासी बलराम खतिवडाले दाबी बिरोध दर्ता गरेका हुन् भने सचिवका प्रत्यासी नारायण कँडेलका बिरुद्ध सचिव पदकै अन्य प्रत्यासीहरुले दाबी बिरोध दर्ता गरेका हुन् ।
सबै दाबी बिरोधका सम्बन्धमा विधान तथा अन्य व्यवस्था अनुसार दाबी पुग्ने वा नपुग्ने सम्बन्धमा समितिले छानबिन गरिरहेको जानकारी प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । विधानले गरेको व्यवस्था अनुसार समितिले निणर्य गरी अन्तिम नामावली प्रकाशन गरिने उनको भनाई छ ।
उता आफु बिरुद्ध दाबी बिरोध परेका उम्मेदवारहरुले भने विधानले गरेको सबै व्यवस्था निर्वाचनमा अक्षरस पालना हुनुपर्ने त्यसो नभएको खण्डमा निर्वाचन प्रकृयालाई लिएर अदालत जाने बताएका छन् । उम्मेदवारीका सम्बन्धमा यस पटकको निर्वाचनमा विधान आकर्षित नहुने भन्दै उनीहरुले अर्को पटक हुने निर्वाचनदेखि मात्र विधानका व्यवस्था तथा मापदण्ड लागू हुने भन्दै आफुहरु बिरुद्ध परेको दाबी बिरोधका सम्बन्धमा कुनै निणर्य नहुने दाबी समेत गरेका छन् ।
दाबी बिरोध दर्ता गर्ने उम्मेदवारहरुले भने विधान २०७८ सालमा नै लागू भएको, त्यस पछिको अर्को साधारण सभामा पनि अहिलेका विवाद नआएको र विधान अहिलेदेखि नै आकर्षित हुने भएकाले दाबी बिरोध दर्ता गरिएका उम्मेदवारहरुको मनोनयन विधान विपरित भएको आरोप लगाएका छन् । विधान विपरित दर्ता भएका मनोनयन खारेज हुने उनीहरुको भनाई छ ।
कुल ४५१ मतदाता नामावली सहितको प्रारम्भिक सूची प्रकाशन भएकोमा दाबी बिरोध पश्चात इप्पान निर्वाचन समितिले ४४७ मतदाता भएको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।
अध्यक्ष र उपाध्यक्षसहति सदस्यहरूको निर्वाचन तथा मतगणना जेठ ३२ गते बिहीबार सम्पन्न गर्ने निर्वाचन कार्यतालिका छ । हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको इप्पान सचिवालयले जनाएको छ ।



























