राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ सम्म लम्बियो

Thursday Apr 24, 2025
वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:५८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको ऋणपत्रमा आवेदन दिने समय सीमा लम्बिएको छ । बैंकले वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ मा अब लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
७ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा कुल २५ लाख कित्ता अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
जसमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) व्यक्तिगत लगानीकर्ताका लागि र ४० प्रतिशत (१० लाख कित्ता) सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको भागमा पनि ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आवेदन सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था वा मेरो सेयर एपमार्फत दिन सकिन्छ ।
केयर रेटिङ्ग्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयर एनपी ए प्लस’ रेटिङ दिएको छ, जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रहेको र कर्जा जोखिम न्यून रहेको संकेत गर्छ ।