स्वच्छ खानेपानी सबैको घरसम्म पुर्याउने सरकारको संकल्प : मन्त्री यादव

Wednesday Apr 30, 2025
वि.सं.२०८२ वैशाख १७ बुधवार २१:१७

धनकुटा (सङ्गुरीगढी), १३ वैशाख – खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्।
बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न स्वच्छ खानेपानी पहुँच सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताए।
“आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका वडाहरूमा गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुआत गरेको छ,” उनले भने।
मन्त्री यादवले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरी नागरिक अधिकार सुनिश्चित गरिने बताए।
उनका अनुसार सह–लगानी मोडेललाई सरल बनाउँदै ८५/१५ मा रूपान्तरण भइसकेको छ, र विकट क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।
बुढीमोरङ आयोजना सम्पन्न भएपछि ४६४ घरधुरीका करिब २,२१३ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। आयोजनाको मुख्य स्रोत काम्फुवा खोला हो, जहाँबाट प्रति सेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट खिचिनेछ।
आयोजनाको कुल लागत ७ करोड २१ लाख ७७ हजार ७३७ रुपैयाँ रहेको छ। जसमा सरकारले ९०% अर्थात् ४ करोड ७४ लाख १६ हजार ३१ रुपैयाँ र समुदायबाट १०% अर्थात् ५२ लाख ६८ हजार ४४७ रुपैयाँ लगानी गरिनेछ।
कार्यक्रममा मन्त्रालयका सचिव, इञ्जिनियर, विभागीय प्रमुख र स्थानीय जनप्रतिनिधिसहितको उपस्थिति थियो।