महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि अन्तरराष्ट्रिय बजारसम्मको पहुँच
Friday Apr 03, 2026
वि.सं.२०८२ चैत २० शुक्रवार २३:२२
काठमाडौं । नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबार (आज) देखि हेरिटेज गार्डेन तलितपुरको सानेपामा सुरु भएको छ। महिला उद्यमी महासंघ, नेपालको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गर्नु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले महिला उद्यमशीलताले व्यक्तिको क्षमता विकाससँगै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले स्थानीय स्रोत र साधनको उपयोगमार्फत रोजगारी सिर्जना तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा महिला उद्यमीहरूको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो।
महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले यो मेला महिला उद्यमीहरूको उत्सव मात्र नभई उनीहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने सेतु भएको बताउनुभयो। उहाँले उत्पादनको गुणस्तर वृद्धि, प्रविधिको प्रयोग, ब्रान्डिङ र बजार विस्तारमा थप सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
उद्घाटन कार्यक्रममा महासंघकी प्रथम उपाध्यक्ष तथा मेला आयोजक समिति संयोजक सुनिता वैद्य श्रेष्ठले मेला आयोजनाको उदेश्य, सहभागी, मेलाले भविष्यमा पार्ने सकारात्मक प्रभावको विषयमा आफ्नो धारणा राख्नु भयो । उद्घाटनको समापनमा महासंघकी द्वितीय उपाध्यक्ष बसन्ती प्रधानले धन्यवाद दिनु भएको थियो ।
मेलामा करिब ३ सय महिला उद्यमीका स्टलहरू रहेका छन्। देशका सबै प्रदेश र जिल्लाबाट महिला उद्यमीहरका हस्तकला, खाद्य परिकार, कपडा, सौन्दर्य सामग्री तथा रैथाने उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। महिलाका उत्पादनलाई वर्षभरि नै बजार उपलब्ध गराउने उद्देश्यले स्थायी शोरुम तथा स्टल व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिएको छ। यो मेलाले भविष्यमा पनि महिलाहरुका उत्पादनलाई बजारिकण गर्न सहयोग पुग्ने मेला संयोजक वैद्य श्रेष्ठले आशा व्यक्त गर्नु भएको छ । करिव २ करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको छ
मेलाका अवसरमा सर्लाहीकी उद्यमी निर्मला महतो तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा लाई सम्मान गरिएको छ।




























