अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव
Friday Jul 17, 2026
वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३
काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीतिलाई लचिलो र सहजीकरणमुखी बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री शाहले समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व तथा उद्यमशीलता प्रवर्द्धनका लागि मौद्रिक नीतिमा आवश्यक सुधार र लचकता आवश्यक रहेको बताउनुभयो।
उहाँले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्रै मुलुकमा आर्थिक आत्मविश्वास अभिवृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध सर्वसाधारण लगानीकर्ताको मनोबल उच्च राख्न नेपाल राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। मौद्रिक नीतिमा रहेका केही सीमित तथा जटिल प्रावधानलाई खुकुलो बनाउँदै सेयर बजारमा लगानीको वातावरण थप सहज र उत्साहजनक बनाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले उद्योग, व्यवसाय र रोजगारी विस्तारका लागि साना तथा ठूला उद्यमीलाई निर्धक्क रूपमा लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै बैंकहरूको ब्याजदर तथा कर्जा प्रवाहका सर्तलाई उद्यममैत्री बनाउन आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्ने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने धारणा पनि राख्नुभयो।
भेटका क्रममा गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकार र नेपाल राष्ट्र बैंकको साझा उद्देश्य अर्थतन्त्रलाई गति दिनु नै भएको उल्लेख गर्दै कसैलाई अप्ठ्यारो पर्ने वा त्रसित बनाउने खालको नीति नअपनाइने स्पष्ट पार्नुभयो।
गभर्नर पौडेलले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा आवश्यक सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।






















