नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै
Wednesday Aug 05, 2026
वि.सं.२०८३ साउन २० बुधवार ०८:००
काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो आकर्षणबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ प्रविधि र उत्पादनको दबदबा देखिने भएको छ ।
एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय सवारी तथा भविष्यका मोबिलिटी प्रविधिलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेका छन् । नाइमा मोबिलिटी एक्स्पोका प्लानिङ कमिटी मेम्बर शिशिरकुमार मुरारकाका अनुसार यसपटकको एक्स्पोमा ५२ वटा स्टलमार्फत ५५ वटा ब्रान्ड सहभागी हुनेछन् भने करिब ४० वटा नयाँ उत्पादन सार्वजनिक हुनेछन् ।
‘यो पटक नयाँ लन्चहरू नै एक्स्पोको मुख्य आकर्षण हुनेछन् । ग्राहकले नयाँ प्रविधि, नयाँ मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट हेर्न पाउनेछन,‘ मुरारकाले भने ।
उनका अनुसार नेपालमा ईभीको बजार तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा एक्स्पोले विद्युतीय सवारी, चार्जिङ प्रविधि, नयाँ डिजाइन र स्मार्ट मोबिलिटी समाधानबारे उपभोक्तालाई जानकारी दिनेछ ।
मुरारकाका अनुसार एक्स्पोमा हाल नेपालमा बिक्री भइरहेका सवारी मात्र नभई भविष्यमा बजारमा आउन सक्ने प्रविधिका मोडलसमेत प्रदर्शन गरिनेछ । ‘कतिपय ब्रान्डले भविष्यका प्रविधि देखाउन नयाँ अवधारणाका सवारी ल्याउँदैछन् । चीन र भारतमा विकास भइरहेका ईभी तथा अन्य प्रविधि नेपालका ग्राहकले प्रत्यक्ष हेर्न पाउनेछन,’ उनले भने ।
उनका अनुसार केही ब्रान्डहरूले लेफ्ट ह्यान्ड ड्राइभका मोडलसमेत प्रदर्शन गर्ने तयारी गरेका छन् । यस्ता सवारीले भविष्यमा नेपालमा आउन सक्ने प्रविधिको संकेत गर्ने उनको भनाइ छ ।
मुरारकाले एक्स्पोले नयाँ सवारी बिक्री मात्र नभई समग्र अटो बजारलाई चलायमान बनाउन योगदान गर्ने बताए । ‘दशैंजस्ता समयमा नेपाली उपभोक्ताले सवारी खरिद गर्ने परम्परा छ । एउटै प्लेटफर्ममा सबै ब्रान्डका अफर, प्रविधि र सुविधा बुझ्न पाउने भएकाले ग्राहकलाई निर्णय लिन सहज हुन्छ,’ उनले भने ।
उनका अनुसार एक्स्पोमा बैंक, बीमा कम्पनी र एक्सचेन्ज पार्टनरसमेत सहभागी हुनेछन् । यसबाट ग्राहकले सवारी खरिदसँग सम्बन्धित फाइनान्स, बीमा र पुरानो सवारी साट्ने सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् ।
कम ब्याजदरले खरिदको अवसर
हाल बैंकिङ ब्याजदर तुलनात्मक रूपमा कम रहेकाले सवारी खरिदका लागि उपयुक्त समय रहेको मुरारकाको भनाइ छ । ‘अहिले ब्याजदर सस्तो छ । ग्राहकको आर्थिक भार पनि कम हुन्छ । त्यसैले गाडी खरिदका लागि यो राम्रो समय हो,’ उनले भने ।
सर्भिस र स्पेयर पाट्र्समा सुधारको प्रयास
नेपालमा ईभीको संख्या बढ्दै गएसँगै सर्भिस सेन्टर र स्पेयर पाट्र्स व्यवस्थापन चुनौतीका रूपमा देखिए पनि ब्रान्डहरूले सुधार गरिरहेको मुरारकाले बताए । उनका अनुसार सीमाक्षेत्रका सडक अवरोध, अन्तर्राष्ट्रिय आपूर्ति समस्या वा ढुवानीमा हुने ढिलाइका कारण कहिलेकाहीँ स्पेयर पाट्र्स उपलब्धतामा समस्या आउन सक्छ । तर गाडी बिक्री गरेपछि सेवा नदिने अवस्था नरहेको उनको दाबी छ ।
‘गाडी नै बनेन वा ब्रान्डले ग्राहकलाई सेवा नै दिएन भन्ने ठूलो समस्या छैन । केही अवस्थामा ढिलाइ हुन सक्छ, तर कम्पनीहरूले सर्भिस र स्पेयर पाट्र्स सुधारमा काम गरिरहेका छन,’ उनले भने ।
पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था
एक्स्पोमा आगन्तुकको सहजताका लागि यस पटक पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । भृकुटीमण्डपको विपरीततर्फ रहेको ब्लु प्याभिलियनलाई एक्स्पो अवधिभर पार्किङ स्थलका रूपमा प्रयोग गरिने मुरारकाले जानकारी दिए ।
त्यस्तै, डिजिटल टिकटको व्यवस्था गरिएको छ । खल्ती बाई आईएमईमार्फत टिकट खरिद गर्न सकिने र युनियन पेको भुक्तानीमा क्यासब्याक तथा विद्यार्थीका लागि छुटको व्यवस्था रहेको उनले बताए ।
उनका अनुसार नाइमा मोबिलिटी एक्स्पो केवल सवारी प्रदर्शनी नभई नेपालमा भित्रिँदै गरेको नयाँ अटो प्रविधि र भविष्यको मोबिलिटीबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्म बन्नेछ ।























