दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने
Friday Aug 07, 2026
वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१
काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार साउन २२ गते राति ८ बजेदेखि साउन २७ गतेसम्म (अगस्ट ७–१२) सञ्चालन हुने अभियानमा ग्राहकले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्नेछन्।
दराजका अनुसार अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न उत्पादनमा विशेष छुट उपलब्ध हुनेछ। प्लाटिनम ब्रान्ड पार्टनरअन्तर्गत होनासा र बेयर एनाटमीका उत्पादनमा १० प्रतिशतसम्म, गोल्ड ब्रान्ड पार्टनर ब्रान्डहाउसका उत्पादनमा ६० प्रतिशतसम्म तथा सिल्भर ब्रान्ड पार्टनर न्यूलाइट, यूग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ।
अभियानअन्तर्गत ‘ब्रान्ड रश आवर’ पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ। पहिलो चरण अगस्ट ७ को राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म सञ्चालन हुनेछ। त्यसपछि अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ देखि १० बजेसम्म ‘ब्रान्ड रश आवर’ सञ्चालन गरिनेछ, जसमा ७५ भन्दा बढी ब्रान्डका उत्पादनमा विशेष छुट उपलब्ध हुने कम्पनीको भनाइ छ। अभियान अवधिभर फ्ल्यास सेलमार्फत पनि सीमित अवधिका अफर उपलब्ध गराइनेछ।
डिजिटल भुक्तानीका लागि दराजले ईसेवासँग सहकार्य गरेको छ। अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म ईसेवामार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट पाइने कम्पनीले जनाएको छ। यस्तै, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ देखि १० बजेसम्म ईसेवाबाट भुक्तानी गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट उपलब्ध हुनेछ।
अभियानको अर्को आकर्षणका रूपमा ‘डेली मिस्ट्री डिल्स एन्ड गिभअवेज’ सञ्चालन गरिनेछ। कम्पनीका अनुसार अभियान अवधिभर हरेक दिन एक जना विजेतालाई करिब १५ हजार रुपैयाँ बराबरका उपहार प्रदान गरिनेछ।
यस योजनाअन्तर्गत ग्राहकले दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका आठवटा ‘मिस्ट्री’ उत्पादनको मूल्य अनुमान गरी आफ्नो उत्तर कमेन्ट गर्नुपर्नेछ। सही उत्तर दिने र कमेन्टमा तीन जना साथीलाई ट्याग गर्ने सहभागी दैनिक लक्की ड्रमा समावेश हुनेछन्। हरेक दिन एक जना विजेता छनोट गरिने कम्पनीले जनाएको छ।
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियामा सञ्चालनरत ई–कमर्स प्लेटफर्म हो। कम्पनीले नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा सेवा प्रदान गर्दै आएको छ।























