नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता
Friday Aug 07, 2026
वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६
काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५ मेगावाट क्षमताको लोअर हुग्दीखोला जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका लागि ऋण सम्झौता भएको छ। साउन २० गते सम्पन्न सम्झौताअनुसार आयोजनाको वित्तीय व्यवस्थापनका लागि बैंकले कर्जा उपलब्ध गराउने भएको हो।
बैंकका अनुसार आयोजनामा ऋण–स्वपुँजी अनुपात ७०ः३० कायम रहने गरी वित्तीय संरचना तय गरिएको छ। सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक गोपाल प्रसाद निरौलाले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले ऊर्जा क्षेत्रमा बैंकको लगानी विस्तार गर्ने नीति अनुरूप उक्त आयोजनामा वित्तीय व्यवस्थापन गरिएको बताए। उनले आयोजना सफल निर्माण तथा सञ्चालनका लागि शुभकामना व्यक्त गरेका छन्।
त्यसैगरी, चितवन इनर्जी लिमिटेडका सञ्चालक निरौलाले आयोजना वित्तीय व्यवस्थापनमा नेपाल बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।























