सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला
Tuesday Feb 18, 2025
वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४
काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापक र डिपोजिटरी रहेको “सानिमा म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौथो तथा पहिलो खुलामुखी योजना “सानिमा फ्लेक्सी फण्ड” लाई नेपाल धितोपत्र बोर्ड (SEBON) बाट संचालन अनुमति प्राप्त भएको छ। यस योजनाको पहिलो चरणमा स्वीकृत आकार रु. १ अर्ब रहेको छ।
यस खुलामुखी सामूहिक लगानी कोष योजनाको कुल आकार १० करोड इकाई (प्रति इकाई अंकित मूल्य रु. १०) रहेको छ। यसको पहिलो चरणमा ४ करोड इकाई (कुल आकारको ४०%) सार्वजनिक बिक्रीका लागि उपलब्ध गराइनेछ। यस मध्ये १.५ करोड इकाई (कुल आकारको १५%) कोष प्रवर्धक सानिमा बैंक लिमिटेड र योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी २.५ करोड इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि खुल्ला गरिनेछ।
यो योजना खुलामुखी प्रकृतिको भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण हुने छैनन्। तथापि, योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा योजना व्यवस्थापक तथा तोकिएका वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ। लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय, तोकिएका वितरक कार्यालयहरु वा अनलाइन मार्फत इकाई खरिद गर्न सक्नेछन्।
सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारमा ९ वर्षदेखि दक्षतापूर्वक सेवा प्रदान गर्दै आएको छ। यसअघि सानिमा म्युचुअल फण्ड अन्तर्गत तीन बन्दमुखी योजनाहरु सफलतापूर्वक संचालन गरिसकेको छ। यस मध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्षे अवधि पूरा गरी लगानीकर्ताहरुलाई १७.५% को बार्षिक औसत प्रतिफल प्रदान गरेको छ।
“सानिमा फ्लेक्सी फण्ड” को इकाई बिक्री मिति २०८१ माघ ०६ देखि २०८१ माघ २० सम्म खुल्ला रहनेछ।



























