नाइमा मोबिलिटी एक्स्पोमा एभरेष्ट बैंकद्वारा ६.५२% मा सस्तो सवारी कर्जा योजना घोषणा
Thursday Aug 07, 2025
वि.सं.२०८२ साउन २२ बिहीवार २२:१५
काठमाडौं । राजधानी काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पो २०८२ मा एभरेष्ट बैंक लिमिटेडले सस्तो ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा आयोजित एक्स्पोमा २९ लाखदेखि डेढ करोड रुपैयाँसम्मका सवारी साधन प्रदर्शनमा राखिएका छन्।
कार्यक्रमको शीर्ष प्रायोजकको रूपमा सहभागिता जनाएको एभरेष्ट बैंकले ६.५२ प्रतिशत वार्षिक ब्याजदरमा सवारी कर्जा दिने घोषणा गरेको हो। यो दर साउन महिनाको आधार दर ५.२७ प्रतिशतमा १.२५ प्रतिशत प्रिमियम थप गरेर निर्धारण गरिएको हो।
बैंकका अनुसार, यो योजना विशेष रूपमा एक्स्पो अवधिभर लागू हुनेछ। भदौ महिनामा आधारदर परिवर्तन भएमा, नाइमा एक्स्पोमा गाडी बुक गरेका ग्राहकहरूले नयाँ आधारदरमा १.२५ प्रतिशत प्रिमियम थप गरेर कर्जा पाउनेछन्।
एभरेष्ट बैंकको यो कदम सवारी किन्न चाहने ग्राहकहरूका लागि सुनौलो अवसरको रूपमा आएको विश्लेषण गरिएको छ।




























