नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को
Saturday May 09, 2026
वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२
काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी अध्यायको सुरुवात गर्दै नेपाल कम्युनिभर्सिटीले काठमाडौँ विश्वविद्यालयसँगको साझेदारीमा ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता’ ९ःक्क्ष्भ्० विषयको स्नातकोत्तर कार्यक्रम सार्वजनिक गरेको छ ।
परम्परागत चारघेराभित्रको कक्षाकोठालाई पूर्ण रूपमा विस्थापित गर्दै ूसमुदाय नै पाठ्यक्रमू भन्ने नवीन अवधारणाका साथ शुक्रबार राजधानीमा यस कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो । यो पाठ्यक्रम विशेष गरी विद्यार्थीहरूलाई नेपालको भूगोल, संस्कृति र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोड्दै उनीहरूमा व्यावहारिक सीप र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तयार पारिएको छ ।
सन् २०२६ अक्टोबरदेखि सुरु हुने यस शैक्षिक कार्यक्रममा विभिन्न विधाका ३० जना विद्यार्थीहरूलाई सहभागी गराइनेछ । यसको सबैभन्दा विशिष्ट पक्ष भनेको विद्यार्थीहरूले नेपालको हिमाल, पहाड र तराईका तीन फरक भौगोलिक क्षेत्रमा पुगेर अनुभवजन्य सिकाइ हासिल गर्नु हो । मुस्ताङको हिमाली भेग, चित्लाङको पहाडी काख र जनकपुरको तराई क्षेत्रमा तीनवटा त्रैमासिक चरणहरू सञ्चालन गरिनेछ भने अन्तिम सेमेस्टर काठमाडौँमा क्यापस्टोन प्रोजेक्टका रूपमा रहनेछ । यस प्रक्रियामा विद्यार्थीहरूले केवल किताब मात्र पढ्ने छैनन्, बरु स्थानीय समुदायसँगै बसेर त्यहाँका वास्तविक समस्याहरूको समाधान खोज्न उद्यमशीलता र प्रविधिको प्रयोग गर्नेछन् ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम अर्यालले शिक्षालाई स्थानीय माटोसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिँदै समाज बुझेका र सीपयुक्त उद्यमशील जनशक्ति तयार गर्नु नै आफूहरूको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा। डा। उद्धव प्याकुरेलले यो कार्यक्रमले नेपाली युवाहरूलाई आफ्नै देशभित्रका अनगिन्ती सम्भावनाहरू पहिचान गर्न र अर्थपूर्ण परिवर्तनको संवाहक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्का वक्ता डा। उत्तम बाबु श्रेष्ठले प्रकृति र समुदायमा आधारित यो शिक्षाले प्रविधिको युगमा मानवीय नैतिकतालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी छ्योमे, पनास र दियो प्रज्वलन गरिएको थियो, जसले राष्ट्रिय एकता र शैक्षिक पुनर्जागरणको सन्देश प्रवाह गरेको छ ।
प्रा। डा। मन प्रसाद वाग्ले, सुभाष शर्मा, याङ्छेन गुरुङ र सह(प्राध्यापक अशोक साहले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै नेपालको शिक्षा प्रणालीलाई नयाँ उचाइमा पुर्याउने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल मानविकी, विज्ञान, व्यवसाय र प्रविधि लगायत जुनसुकै संकायका स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि यो विशेष स्नातकोत्तर कार्यक्रममा आवेदन खुला गरिएको छ ।




























