नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने
Saturday May 09, 2026
वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८
काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको छ । एमजीको नयाँ मोडेल ‘एमजी एस६ ईभी’ आगामी सोमबार सार्वजनिक हुने भएको हो । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ ईभी बजारमा ल्याउन लागेको जनाएको छ ।
एमजी एस६ ईभीलाई शक्तिशाली मोटर, लामो रेन्ज र आधुनिक प्रविधिसहित प्रस्तुत गर्न लागिएको कम्पनीको भनाइ छ । गाडीमा १८० किलोवाटको इलेक्ट्रिक मोटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । रियर ह्विल ड्राइभ सिस्टमयुक्त यो गाडीले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पादन गर्ने बताइएको छ ।
कम्पनीका अनुसार गाडीले एक पटकको पूर्ण चार्जमा करिब ५२९ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध भएकाले छोटो समयमै ब्याट्री चार्ज गर्न सकिने बताइएको छ ।
एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित यो ईभीको डिजाइन स्पोर्टी र आकर्षक देखिने कम्पनीको दाबी छ । यसमा साइबरस्टर रोडस्टरबाट प्रेरित एलईडी हेडल्याम्प, आकर्षक फ्रन्ट फेसिया तथा पछाडिपट्टि फुल–विथ एलईडी लाइट बार जडान गरिएको छ ।
इन्टेरियरतर्फ १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले राखिएको छ । आधुनिक टच सिस्टमसँगै आवश्यक फिचरका लागि फिजिकल कन्ट्रोलसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
गाडीमा ६७४ लिटरको बुट स्पेस रहेको छ भने पछाडिका सिट फोल्ड गरेपछि यसको क्षमता १,९१० लिटरसम्म पुग्ने बताइएको छ । साथै, अगाडि १२४ लिटरको फ्रन्ट ट्रंक पनि उपलब्ध छ ।
सुरक्षातर्फ यो ईभीले फाइभ–स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, प्यानोरामिक सनरुफ तथा ११ स्पिकर अडियो सिस्टम जस्ता आधुनिक सुविधा समावेश छन् ।




























