सिजी मोबाइलले नेपालमा सार्वजनिक गर्यो मोटो जी०६ पावर र मोटो जी५७ पावर
Monday May 18, 2026
वि.सं.२०८३ जेठ ४ सोमवार १०:३३
काठमाडौं । सिजी मोबाइलले नेपाली बजारमा दुई नयाँ मोटोरोला स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको छ। उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला ब्रान्डको एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो। यसमा ७०००mAh क्षमताको ठूलो ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ भने ४GB र्याम तथा १२GB सम्मको र्याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई सहज बनाउने बताइएको छ।
यसमा ६.८८ इन्चको १२०Hz डिस्प्ले, ५० मेगापिक्सेल क्वाड पिक्सेल क्यामेरा तथा डल्बी एटमससहितको स्टेरियो स्पिकर समावेश गरिएको छ। साथै, कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आईपी६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्रिमियम भेगन लेदर फिनिसले फोनलाई आकर्षक बनाएको कम्पनीको भनाइ छ। नेपाली बजारमा मोटो जी०६ पावरको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, मोटो जी५७ पावरलाई कम्पनीले नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनयुक्त स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ। यसमा स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ। फोनमा ८GB र्याम र १२८GB स्टोरेज उपलब्ध छ भने र्याम बुस्टमार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा रहेको छ। ७०००mAh क्षमताको ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ।
फोटोग्राफीका लागि फोनमा मोटो एआईद्वारा सञ्चालित ५० मेगापिक्सेल सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ। साथै, ६.७२ इन्च एफएचडी+ १२०Hz डिस्प्ले, डल्बी एटमससहितको डुअल स्टेरियो स्पिकर, हाई–रेज अडियो तथा बास बुस्ट फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ।
फोनमा एमआईएल–एसटीडी–८१०एच मिलिटरी–ग्रेड सर्टिफिकेसन तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ। प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा तीन वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। नेपाली बजारमा मोटो जी५७ पावरको मूल्य ३७ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट तथा पार्टनर स्टोरमार्फत उपलब्ध हुनेछन्।



























