महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने
Tuesday May 26, 2026
वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ १७ गतेदेखि २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन हुनेछ ।
हरेक वर्षझैं यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र मर्चेन्ट बैंकहरूको सहभागिता रहने उक्त प्रतियोगिता कर्पोरेट क्षेत्रको प्रतिष्ठित क्रिकेट प्रतियोगिताका रूपमा परिचित छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४५ खेल खेलाइनेछन् भने २४० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी तथा १ मर्चेन्ट बैंक गरी २४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोह जेठ १७ गते हुनेछ भने समापन तथा पुरस्कार वितरण समारोह जेठ २२ गते आयोजना गरिनेछ ।
आयोजकका अनुसार प्रतियोगिता लिग कम नकआउट ढाँचामा सञ्चालन हुनेछ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहबाट उत्कृष्ट टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । खेल १० ओभरको हुनेछ ।
प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स, स्वावलम्बन लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स तथा एनआईएमबी एस क्यापिटलको सहभागिता रहनेछ ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीसँगै ‘म्यान अफ द सिरिज’, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याट्सम्यान’, ‘बेस्ट विकेट किपर’, ‘बेस्ट फिल्डर’ र ‘फेयर प्ले अवार्ड’ लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका सम्पूर्ण खेल बैंकको आधिकारिक सामाजिक सञ्जाल युट्युब च्यानल तथा नेवा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सञ्चालन हुँदै आएको महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखामार्फत करिब ८ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
























