ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न
Monday Jun 01, 2026
वि.सं.२०८३ जेठ १८ सोमवार २२:२२
‘ट्राफिक प्रहरी मिरर २०२६’ को आज एक विशेष समारोहका बीच आधिकारिक रूपमा लोकार्पण भएको छ। नेपाल प्रहरी सङ्गठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उक्त ‘ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण गर्नुभएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा सम्पन्न “इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” को सुअवसर पारेर यस महत्वपूर्ण पुस्तकको लोकार्पण गरिएको हो।
लोकार्पण समारोहमा प्रहरी महानिरीक्षक कार्कीले मिररको निर्माण एवं प्रकाशनमा उल्लेखनीय योगदान पुर्याउने ट्राफिक प्रहरी कर्मचारीहरू, सहयोगी संस्थाहरू र विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्रद्वारा सम्मान समेत गर्नुभएको थियो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ‘ट्राफिक प्रहरी मिरर २०२६’ को प्रकाशन र यसको औचित्यमाथि विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो। त्यस्तै, प्रोफेसन होल्डिङ्स लिमिटेड तथा ग्लोबल कलेजका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठी र ट्राफिक विज्ञ सुनिल पौडेलले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ट्राफिक व्यवस्थापनका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो।
विगतका अनुभव, सङ्घर्ष र उपलब्धिहरूको बलियो जगमा उभिएर प्रकाशन गरिएको ‘ट्राफिक प्रहरी मिरर २०२६’ ले आगामी दिनमा प्रविधिमैत्री र आधुनिक युगतर्फ अगाडि बढ्न ट्राफिक व्यवस्थापनको स्पष्ट दृष्टि प्रस्तुत गरेको छ। कार्यक्रममा ‘ट्राफिक प्रहरी मिरर २०२६’ को सार र यसको निर्माण प्रक्रिया समेटिएको एक वृत्तचित्र (डकुमेन्ट्री) समेत प्रदर्शन गरिएको थियो।

























