चौथो साङ्ग्रिला साइकल र्याली जेठ २३ गते हुने
Wednesday Jun 03, 2026
वि.सं.२०८३ जेठ २० बुधवार २१:३२
साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्याली यही २०८३ जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर बैंकले विगतका वर्षहरू झैँ यस पटक पनि जेठ २३ गते शनिबार यो र्याली आयोजना गर्न लागेको हो ।
र्याली काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ । उक्त र्याली दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैन भवन, साङ्ग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै पुनः एलिस रिसेप्सन गैरीधारामा पुगेर समापन हुनेछ ।
र्यालीमा सहभागी हुन इच्छुक व्यक्तिहरूले ह्वाट्सएप नम्बर ९८६३५८०००१ मा ‘registration’ लेखेर पठाएर, आधिकारिक लिंक (https://wa.me/message/3EHCI74Z2DQAK1) मा गएर वा क्युआर कोड स्क्यान गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन् । र्यालीका सहभागीहरूमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली विजेतालाई आकर्षक साइकल तथा अन्य विभिन्न उपहारहरू प्रदान गरिनेछ ।
वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पुर्याउने उद्देश्यले साङ्ग्रिला डेभलपमेन्ट बैंकले यसअघि पहिलो, दोस्रो र तेस्रो संस्करणको साइकल र्याली सफलतापूर्वक आयोजना गरिसकेको छ । विगतका र्यालीहरूमा जस्तै यस पटक पनि वातावरणप्रति चासो राख्ने तथा साइकलमैत्री सहर चाहने सम्पूर्ण नागरिकहरूबाट पूर्ण सहयोगको अपेक्षा बैंकले राखेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाका कारण साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालयहरू र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ परिष्कृत र विस्तार गर्दै लैजाने प्रतिबद्धता वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशीले व्यक्त गर्नुभएको छ ।























