इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने
Monday Jun 29, 2026
वि.सं.२०८३ असार १५ सोमवार २३:४९
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील इक्यानले सुरक्षित, पारदर्शी र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रवर्द्धन गर्दै आएको छ। यसैगरी, आइप्यानले नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउने तथा विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूको साझा मञ्चका रूपमा काम गर्दै आएको छ।
दुवै संस्थाबीच भएको समझदारीले अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त उच्च शिक्षा संस्थाहरू र शैक्षिक परामर्शदाताबीच दीर्घकालीन सहकार्य, समन्वय तथा विश्वासलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।
समझदारीअनुसार अब इक्यानका सदस्य संस्थाहरूले आइप्यानसँग आबद्ध कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययन अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति, प्रवेश मापदण्ड तथा करियरसम्बन्धी जानकारीमा प्रत्यक्ष पहुँच प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी तथा अभिभावकलाई थप तथ्यपरक, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न सहकार्य गर्ने सहमति गरेका छन्। यसका लागि अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, शैक्षिक ब्रान्डिङ, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा शैक्षिक कूटनीतिलाई सुदृढ बनाइने जनाइएको छ।

यसैगरी, क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, नेटवर्किङ कार्यक्रम तथा अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनहरू संयुक्त रूपमा आयोजना गरिनेछ। दुवै संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउन पनि सहकार्य गर्ने सहमति गरेका छन्।
समझदारीपत्र हस्ताक्षर समारोहमा दुवै संस्थाका पदाधिकारीहरूले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गरिने प्रतिबद्धता समेत जनाइएको छ।
इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।






















