परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न
Friday Jul 03, 2026
वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०
काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३६औँ वार्षिकोत्सवको अवसरमा परिवर्तनशील मिडिया परिदृश्य र विज्ञापन व्यवसायका चुनौती तथा सम्भावनाबारे विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
‘इभोल्भिङ मिडिया ल्याण्डस्केप एन्ड एभर–ट्रान्सफर्मिङ एड्भर्टाइजिङ बिजनेस’ शीर्षकमा आयोजित कार्यक्रम शुक्रबार गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा सम्पन्न भएको हो। संघले जेठ ३० देखि असार ३० सम्म सञ्चालन गरिरहेको वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त अन्तरक्रिया आयोजना गरिएको जनाएको छ।
एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाली मिडिया तथा विज्ञापन बजारमा देखिएका नयाँ प्रवृत्ति, चुनौती र अवसरबारे विज्ञ, सञ्चारकर्मी तथा व्यवसायीबीच छलफल भएको थियो।
छलफलमा प्रविधिको तीव्र विकाससँगै उपभोक्ताहरू फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत डिजिटल तथा सामाजिक सञ्जालतर्फ आकर्षित भइरहेका कारण टेलिभिजन, रेडियो र प्रिन्टजस्ता परम्परागत सञ्चार माध्यममा विज्ञापनको हिस्सा घट्दै गएको विषयलाई प्रमुख चुनौतीका रूपमा उठाइएको थियो।
सहभागीहरूले नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटामा आधारित मार्केटिङ तथा डिजिटल विज्ञापनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको र शहरी तथा ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको खाडलले विज्ञापन उद्योगलाई थप चुनौतीपूर्ण बनाएको धारणा राखेका थिए।
यद्यपि, नेपाली विज्ञापन एजेन्सी तथा व्यवसायीहरूले डिजिटल र इन्फ्लुएन्सर मार्केटिङलाई तीव्र रूपमा अपनाउँदै स्थानीय भाषा, संस्कृति र बजारअनुकूल सिर्जनात्मक सामग्री निर्माणमा सक्रियता बढाएको भन्दै सकारात्मक प्रयासको प्रशंसा गरिएको थियो।
कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेकजस्ता प्रविधिबाट उत्पन्न हुन सक्ने भ्रामक विज्ञापनको जोखिम न्यूनीकरणका लागि आचारसंहिता निर्माण, स्वनियमन र जिम्मेवार प्रविधि प्रयोगमा जोड दिनुपर्ने विषयमा समेत छलफल भएको थियो।
छलफलपश्चात् एड्सारो नेपाल प्रालिका अध्यक्ष सुजन अधिकारीले डिजिटल प्लेटफर्ममा विज्ञापन वितरणका लागि कम्पनीले विकास गरेको प्रविधि तथा त्यसका उपयोगिताबारे प्रस्तुति दिनुभएको थियो।
आनका कार्यकारी सदस्य प्रभात रिमालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष पंकज प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्यानल छलफलको सहजीकरण टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुज राज ढुङ्गेलले गर्नुभएको थियो।
प्यानलमा आनका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य तथा सारस बेभरेजेस रेडबुल नेपालका सेल्स एण्ड मार्केटिङ प्रमुख निर्भिक प्रधान सहभागी रहेका थिए।
कार्यक्रमको समापन गर्दै नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सुदीप थापाले आधुनिक प्रविधिको प्रयोगले विज्ञापन उद्योगलाई मात्र नभई समग्र मिडिया क्षेत्र र विज्ञापनदातालाई समेत किफायती, पारदर्शी तथा प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्था तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।























