शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता
Tuesday Jul 21, 2026
वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२
चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को अनुगमन गर्दै दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गर्नुका साथै पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालासँग छलफल गर्नुभयो।
छलफलमा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि कायम रहेको जग्गा विवादका कारण शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो।
मन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत विवाद समाधानका लागि आवश्यक पहल गर्ने बताउँदै दुवै संस्थाको शैक्षिक हित सुरक्षित हुने गरी समाधान खोजिने स्पष्ट पार्नुभयो।
उहाँले कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका दृष्टिले दुवै संस्था मुलुकका महत्वपूर्ण शैक्षिक केन्द्र भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सरकार अघि बढ्ने बताउनुभयो।
सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम रहेको विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।
अनुगमनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा र सरोज गौतमको पनि सहभागिता रहेको थियो।























