खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर
Friday Jul 31, 2026
वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६
काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० उपहार’ योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रत्येक १५ दिनमा १०० जना भाग्यशाली प्रयोगकर्ताले आफूले तिरेको नवीकरण शुल्क बराबरको १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र शुल्क नतिरेमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने जनाइएको छ। खाता रोक्का भएपछि सेयर खरिद–बिक्रीलगायत पूँजी बजारसम्बन्धी कारोबारमा असर पर्न सक्ने भएकाले समयमै नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयरको ५० रुपैयाँ रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले क्यासब्याक योजना सञ्चालन गरिएको खल्तीले जनाएको छ।
प्रयोगकर्ताले खल्ती एपमा रहेको वित्तीय सेवा अन्तर्गतको डिम्याट तथा मेरोशेयर नवीकरण सेवाबाट आफ्नो डिपोजिटरी पार्टिसिपेन्ट ९डीपी० छनोट गरी केही चरण पूरा गरेर सुरक्षित रूपमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।
यस्तै, डिपोजिटरी पार्टिसिपेन्टको वेबसाइटबाट नवीकरण गर्ने प्रयोगकर्ताले पनि खल्तीको भुक्तानी माध्यममार्फत शुल्क तिर्न सक्ने व्यवस्था रहेको कम्पनीको भनाइ छ।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन एप तथा भुक्तानी गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले घरबाटै जुनसुकै समयमा नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।
कम्पनीले अन्तिम समय कुर्नुभन्दा अघि नै डिम्याट तथा मेरोशेयर खाता नवीकरण गरी क्यासब्याक योजनामा सहभागी हुन पनि प्रयोगकर्तालाई आग्रह गरेको छ।























