कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार
Tuesday Aug 18, 2026
वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रमसम्बन्धी सुविधा उपलब्ध गराएको छ। नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।
कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गरेमा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।
ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा रहेको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्तिको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ।
यस सुविधाले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन र औपचारिक कारोबारमा सहभागी हुन थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रममार्फत आफ्नो योग्यता जाँच गर्न आग्रह गरेको छ।
कुमारी बैंकका अनुसार कार्यक्रमले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता अभिवृद्धिमा सहयोग पुग्नेछ।
२५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्दै सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
























