हिमालयन बैंकले ऋणपत्रमा सर्वसाधारणको आकर्षण कम ,ढिलो अवधिमा विक्री हुन
Monday Jul 22, 2019
वि.सं.२०७६ साउन ६ सोमवार ०३:५६

साउन ६ , २०७६ काठमाडौं : हिमालयन बैंकले साउन २ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्रमा सर्वसाधारणको आकर्षण कम देखिएको छ । छिटोमा साउन ६ गतेको मिति तोकिएको यस ऋणपत्रमा २ दशमलव ६५ प्रतिशत मात्र आवेदन परेको छ । छिटो अवधिमा विक्री हुन नसकेपछि ढिलो अवधिको मितिसम्म विक्री खुला गरिने विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । यसर्थ वार्षिक १० प्रतिशत ब्याजदरको सात वर्षे अवधिको यो ऋणपत्र ढिलोमा साउन ३१ गतेसम्म विक्रीमा रहनेछ । क्यापिटलले दिएको जानकारी अनुसार आइतवार साढे २ बजेसम्ममा ४८६ जना आवेदकले ३१ हजार कित्ताका लागि आवेदन दिएका छन् ।
बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री खुला गरेको हो । कुल ३० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति पाएको बैंकले बाँकी १८ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थालाई विक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको छ । २०८३ मा परिपक्क हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र मूल्य रू. १००० तोकिएको छ ।
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एन–पी ए’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमै पुरा गर्ने र क्रेडिट रिक्स कम भएको जनाउँछ । यो ऋणपत्र धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ भने आवेदकले नेपाल धितोपत्र बार्डबाट स्वीकृति पाएका सि—आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
























